कीर्तिपुरमा खेलाडीका लागि आवासीय होटल बनाउँछौँ, फ्लड लाइट पनि जडान गर्छौंः खेलकुदमन्त्री

Advertisement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होटलको व्यवस्था गरिने बताएका छन् । 

बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए । 

Advertisement

यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने श्रेष्ठको विश्वास छ । उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपियाँ छुट्याइएको बताए । 

संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको उनले बताए । मन्त्री श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताए । 

उनले भने, ‘व्यवहारिक हिसावले यहाँको संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई तिमीहरुको जस्तै संरचना बनाउँदैछौँ भनेर सन्देश दिनु नै हो । विगतको ५ वर्षको भन्दा सबैभन्दा ठूलो बजेट यस वर्ष छ । चाहना असिमित छन्, श्रोत र पुँजी कम छ । जहिले पनि राज्यसँग आश गरेर हुँदैन, खेलकुद आफैँ व्यवसायिक हुनुपर्छ ।’

क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय खेल नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताए । 

उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताउँदै स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको बताए । 

सो अवसरमा खेलकुदमन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गरेका थिए । उनले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताए । 

नेपालले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ मा भाग लिँदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका र वेस्टइण्डिज पुगेर त्यहाँका विभिन्न क्लव र विश्वकप अगाडिको खेलहरु खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानडासँग खेलिसकेको छ भने अमेरिकासँग आज खेल्दैछ । 

विश्वकप जुन २ तारिकबाट अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । जसमा नेपालले भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको शुरुवात गर्नेछ । 

Advertisement

Advertisement