काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई कारबाही नगरे गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् ।
आईतवार संसदमा उनले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्रको कुनै औचित्य नहुने बताएका हुन् । केसीले छानविनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुनेगरी छानविन गर्नुपर्ने बताए ।
सहकारी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने उनले बताए । केसीले भने, ‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन् ।’
उनले थपे, ‘म सरकारलाई भन्छु सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महशुस गरेका छन् । तथ्य दुधको दुध, पानीको पानी हुनेगरी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गरोस् ।’
केसीले राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोष्टमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको बताए ।