आगामी दिनमा अरुभन्दा बढी वैदेशी मुद्रा आर्जन गर्ने र रोजगारी बढाउने क्षेत्र पर्यटन होः तामाङ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् । 

आईतवार गोरखापत्र संस्थानले गरेको कार्यक्रममा उनले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृहकार्य भइरहेको बताएका हुन् । साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताउँदै तामाङले त्यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको बताए । 

Advertisement

उनले पर्यटकहरुको वृद्धि गर्न हवाई सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताए । तामाङले धार्मिक पर्यटन क्षेत्रमा पर्यटकलाई बढीभन्दा बढी समय बिताउनका लागि थपप सुविधाहरुको विकास गर्ने कुरामा पनि सरकारले सोचेको बताए । 

तामाङले भने, ‘सन् २०२४ मा १६ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौँ । कसरी भित्राउने भन्ने सम्बन्धमा गृहकार्य गर्ने क्रममा छौँ । खासगरी साहसिक पर्यटनलाई कसरी आकर्षित तुल्याउने ? धार्मिक र सांस्कृतिक पर्यटकलाई कसरी आकर्षित तुल्याउने ? भन्ने कुरादेखि लिएर अन्य व्यवस्थापकीय पक्षलाई कसरी सुधार गर्ने ? भन्ने कुराहरुको सोँच बनाइराखेका छौँ । हवाई सेवालाई कसरी सुलभ, सरल, प्रभावकारी बनाउने भन्ने कुराहरु पनि यसमा जोडिन्छ । त्यतिमात्रै होइन लुम्बिनीमा बौद्ध धर्मावलम्वीहरु आउँछन् तर हवाइ सेवा भरपर्दो र नियमित रुपमा दिन सकेका छैनौँ ।’ 

उनले थपे, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या कसरी समाधान गर्ने भन्ने छ । काठमाडौंमा पूर्वीय संस्कृतिको केन्द्र पशुपति छ । पशुपतिमा पनि धार्मिक पर्यटकलाई एकछिन भित्राउने कुरा महत्वपूर्ण होइन । पर्यटकलाई बढीभन्दा बढी समय बिताउने खालको अरु सुविधाहरुको थप विकास कसरी गर्न सकिन्छ ? भनेर सोच्नुपरेको छ । मोटामोटी लक्ष्य निर्धारण गरेका छौ । लक्ष्य पूरा गर्न कार्यक्रमिक रुपमा धेरै वर्कआउट गर्नुपर्ने अवस्था छ । आगामी दिनमा नेपालमा पर्यटन क्षेत्र अरु क्षेत्रभन्दा वैदेशिक मुद्रा आर्जन गर्नेदेखि लिएर रोजगार सिर्जना गर्ने कुरा लिएर, नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याउने पर्यटन क्षेत्र नै हो भन्ने अनुभुति गराउने हिसावले अगाडी बढ्नुपर्छ भन्ने सोच छ ।’

मन्त्री तामाङले पर्यटनको विकासको लागि विभिन्न लक्ष्य निर्धारण गरेपनि कार्यक्रमिक रुपरेखा बनाउन भने बाँकी रहेको बताए । 

Advertisement

Advertisement