भारतले यति धेरै कृषिमा अनुदान दिएको छ, हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्थामा थियौंः पुन

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको दावी गरेका छन् । 

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । 

Advertisement

सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने पुनको आशा छ । उनले सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिए पनि नीति नफेरिने बताए । 

मन्त्री पुनले नीतिगत स्थायित्व भए मात्रै देश विकास हुने बताए । उनले चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको दावी गरे । 

पुनले भने, ‘हामीले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ । धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ । राजनीतिक नेतृत्व फेरिराख्छ । मन्त्रीहरु फेरिन सक्छन् । हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ । कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ । यसमा केही सरकारको जोड छ । यसमा विगत सरकारका अध्ययन, नीति छन् । भोलिका सरकारले पनि त्यसलाई लिन्छ । सरकारले नीतिमार्फत आफ्नो कृषि क्षेत्रलाई कसरी संरक्षण गर्ने ? यति ठूलो प्रतिष्पर्धा छ ।’ 

उनले थपे, ‘भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ । चालु वर्षमा भ्याट लगाइएको थियो, कृषि उत्पादनहरुमा । प्याज, आलु, स्याउमा । तर यस पटक त्यो भ्याटलाई हटाइएको छ । कतिले भने आन्तरिकलाई हो, वाह्यलाई होइन, बाह्यलाई लाग्दैन । तर भ्याटको सिद्धान्त भनेको बाह्य र भित्र हुँदैन । जहाँ उपभोग हुन्छ, त्यहाँ लाग्थ्यो तर यस पटक हटाइयो । आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको छ । यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ । कृषक र उद्यमी साथीहरुलाई यसले संरक्षण गर्छ, प्रतिष्पर्धी बनाउँछ ।’

अर्थमन्त्री पुनले नेपालले आईटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए । उनले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको बताउँदै पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताए । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको बताए । 

Advertisement

Advertisement