ईभीको भाउ बढ्ने पक्का, तर मूल्य तय गर्न सकस, प्रतिस्पर्धी ब्राण्डको मूल्यसुची पर्खँदै आयातकर्ता

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटले विद्युतीय सवारी साधन (ईभी)को करको दरमा हेरफेर गर्यो । चालु आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय गाडीको भन्सार मोटर क्षमताअनुसार १० देखि ६० प्रतिशतसम्म र अन्तःशुल्क शून्यदेखि ६० प्रतिशतसम्म थियो । 

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षका लागि यो दरलाई परिमार्जन गर्दै मोटर क्षमता अनुसार भन्सार १५ देखि ८० प्रतिशत र अन्तःशुल्क न्यूनतम् ५ प्रतिशत देखि ५० प्रतिशतसम्म कायम गरेका छन् । 

Advertisement

भन्सार र अन्तःशुल्कको परिमार्जनले विद्युतीय सवारी साधनको मूल्य बढ्ने पक्का छ । यो बजेटले टाटा, बिवाईडी, एमजी, स्काईवेल, उलिङ लगायतका ब्राण्डका गाडीको मूल्य बढ्ने छ । तर हालसम्म कुनै पनि ब्राण्डले आफ्नो नयाँ मूल्य सुची निकाल्न सकेका छैनन् । 

यसको कारण हो हरेक आयातकर्ता प्रतिस्पर्धीको मूल्यसुचीको पखाईमा छन् । उस्तै, विशेषता र यसअघि कायम मूल्यका गाडीको मूल्यमा धेरै फरक पर्यो भने बिक्रीमा असर पर्ने त्रासमा आयातकर्ताहरु छन् । सोही कारण उनीहरु अर्कोले कति मूल्य कायम गर्छ ? भनेर ‘वेट एण्ड सी’मा छन् । 

एक आयातकर्ताले नयाँ मूल्य सुची केही समयका लागि ‘होल्ड’ गरेको बताए । उनले करका दरमा हेरफेर भएअनुसार कति मूल्य कायम गर्ने ? भन्ने सन्दर्भमा आफूहरुको छलफल चलिरहेको बताउँदै संभवतः सबै ब्राण्ड सोही छलफलमा रहेकाले ढिलो भएको हुनसक्ने बताए । 

केही समयमै नयाँ मूल्य सार्वजनिक गर्ने टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.की मार्केटिङ म्यानेजर अभिरुची गिरीले बताइन्। 

उनले भनिन्, ‘मूल्य बढ्ने त निश्चित नै छ । तर ग्राहकलाई धेरै मार नपर्ने गरी कसरी नयाँ मूल्य तय गर्ने ? सो कुरामा आन्तरिक छलफल भइरहेको छ । केही दिनमा नयाँ मूल्य सार्वजनिक हुन्छ ।’

गाडीको नयाँ मूल्य असार पहिलो हप्तासम्म सार्वजनिक गर्ने तयारी रहेको बिवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका नेशनल सेल्स हेड आशुतोश गौतमले बताए।

उनले भने, ‘बजेटले करको दर हेरफेर गरेपछि हामी गाडीको मूल्यको विषयमा छलफलमै छौं । यसको लागि हामीले उत्पादक कम्पनीसँग पनि परामर्शमा छौं । उहाँहरुको सुझाव आएपछि ग्राहकलाई फिजिवल हुने मूल्य निर्धारण गछौं ।’

नयाँ बजेटले स्काइवेल गाडीमो मूल्य करिव ७ देखि १० लाखसम्म बढ्नसक्ने उक्त ब्राण्डका लागि नेपालको आधिकारिक वितरक जि मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । 

उनले भने, ‘ठ्याक्कै यती बढ्छ भन्ने निश्चित भइसकेको छैन। हामी अध्यन गर्दैछौं । हाम्रो ब्राण्ड महंगो भएका कारण ७ देखि १० लाखसम्म बढ्न सक्छ ।’ हामी अहिले ‘वेट एण्ड वाच’मा छौं । अरु प्रिमियम ब्राण्डले कति बढाउँछन् ? त्यही अनुसार अघि बढ्छौं ।’

Advertisement

Advertisement