काठमाडौं । पन्ध्र–सोह्र बर्षअघि नेपालमा इलेक्ट्रिक साइकल खुब चले । त्यस्ता इलेक्ट्रिक साइकलको रेन्ज धेरै नभए पनि त्यसमा पाईडल समेत जडान गरिएको र सवारी लाइसेन्स नचाहिने भएकाले यो ग्राहकको रोजाईमा पर्यो । विशेषत नेपालका तराई क्षेत्रमा लोकप्रिय बनेको यस प्रकारको साइकलका दर्जनौं चिनियाँ ब्राण्ड नेपाली बजारमा आए ।
यस्ता इलेक्ट्रिक साइकलमा सरकारले कुनै मापदण्ड नबनाएका कारण राम्रादेखि नराम्रासम्मका ब्राण्डले नेपाली सडक ओगटे । फलस्वरुप केही समयमा साइकलमा समस्या आउँदा धेरै ब्राण्ड हराउँदै गए भने कतिपयले बिक्री पछिको सेवा दिन नसक्दा ओझेलमा परे ।
एकैपटक च्याउ उम्रिएझै आएका ब्राण्डहरु अधिकांश स्थापित पनि नहुँदै विस्थापित बन्न पुगे । आयातकर्ता कम्पनीले इलेक्ट्रिक साइकलको सटर धमाधम बन्द गर्न थालेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ताले खेप्नु पर्यो । सामान्य समस्या आउँदा पनि मर्मत गर्ने विकल्प नभएपछि उपभोक्तासँग साइकल डम्प गर्ने बाहेक अर्को बिकल्प रहेन ।
एकैपटक च्याउ उम्रिएझै आएका ब्राण्डहरु अधिकांश स्थापित पनि नहुँदै विस्थापित बन्न पुगे ।
पन्द्र वर्षअघि इलेक्ट्रिक साइकलले भोगेको हविगत अहिले आएर इलेक्ट्रिक स्कुटरले भोग्नुपर्ने संभावना देखिएको छ । नेपाली बजारमा झण्डै एक सय वटा इलेक्ट्रिक स्कुटर ब्राण्ड भित्रिए पनि २्४ वटा ब्राण्डले मात्र ग्राहकको विश्वास जित्न सकेका छन् ।त्यस्तै अधिकांश ब्राण्डले अघिल्लो वर्ष आयात गरेको जति पनि आयात गर्न सकेका छैनन् ।
हिरो इलेक्ट्रिक, गोमोपाई र ओनिकावाले २०२३ मा एउटा पनि स्कुटर आयात गर्न सकेनन् । २०२२ मा गोमोपाईको १२०, ओनिकावाको ११३ र हिरो इलेक्ट्रिकको ८० वटा स्कुटर आयात भएको थियो। यी बाहेक अन्य दर्जन बढी नयाँ ब्राण्डले २०२३ मा एउटा पनि स्कुटर आयात गर्न सकेनन्।
त्यस्तै, २०२२ मा ७८ वटा आयात भएको केएसआर मोटर्सको २०२३ मा तीन वटा मात्र आयात भए ।त्यसैगरी, आइमा, जम्बो, राफ्ट, रे मोटर्स, लेभनिङ, प्योर ईभीलगायतका स्कुटरको आयातको अवस्था पनि दयनीय छ ।
छ महिनाअघि वैद्य ग्रपले नेपाल भित्राएको एथरले राम्रो बजार लिइरहेको छ । एथरका लागि नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले राजधानी तथा देशका प्रमुख शहर तथा राजमार्गमा चार्जिङ स्टेशन, सर्भिस सेन्टरलगायतको सेवा दिएर ग्राहक तानिरहेको छ ।
इलेक्ट्रिक स्कुटर ब्राण्ड नेपालमा चाहिनेभन्दा धेरै ब्राण्ड भित्रिएकाले ग्राहकको विश्वाश गुमाउँदै गएको चिनियाँ कम्पनी टेलजीको नेपालका लागि आधिकारिक वितरक योमा मा ई–मोटर्स प्रालिका निर्देशक सन्जिव शिल्पकार बताउँछन्।
‘इलेक्ट्रिक स्कुटरमा क्वालिटी कन्ट्रोल छैन् । जस्तो पनि ब्राण्ड भित्रिएका छन् । यसले अस्वस्थ प्रतिश्पर्धा बढाएको छ। त्यही कारण इलेक्ट्रिक स्कुटरको बजार खस्किएको हो’ उनले भने ।
यसरी जस्ता पनि ब्राण्ड बिना गुणस्तर मापदण्ड बजारमा आउँदा राम्रो ब्राण्डलाई पनि असर परेको उनी बताउँछन् । सरकारी पक्षको कमजोरीका कारण जस्तो पनि ब्राण्ड नेपाली बजारमा भित्रिएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।
केही समयमा साइकलमा समस्या आउँदा धेरै ब्राण्ड हराउँदै गए भने कतिपयले बिक्री पछिको सेवा दिन नसक्दा ओझेलमा परे ।
शिल्पकार भन्छन्, ‘कुनै पनि ब्राण्ड ल्याउने अनुमति दिँदा नै क्वालिटी कन्ट्रोल गर्नुपर्थ्यो । यदी कुनै ब्राण्ड बजारमा आएर बन्द भयो भने यसको बिक्रीपछिको सेवालगायतका लागि सम्वन्धित एजेन्सी नै जवाफदेही हुनुपर्छ ।’
उपभोक्ताको हितका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुन ब्राण्ड बन्द भयो ? बिक्रीपछिको सेवा दिइरहेको छ कि छैन ? आदीको बारेमा निरीक्ष गर्नुपर्ने तिमल्सिनाले बताए ।