खेलकुद संघहरुलाई खेलकुदमन्त्रीको चेतावनीः तत्काल वार्षिक क्यालेण्डर बनाए, नभए.....

Advertisement

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन् । 

मंगलबार राजधानीमा विभिन्न खेलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बनाएर सार्वजनिक गर्न सुझाव दिँदै क्यालेण्डर नबनाए अप्रिय निर्णय लिन आफू बाध्य हुने चेतावनी दिए । 

Advertisement

खेलकुद संघहरुले खेलहरु नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ भmुन्डिरहन आवश्यक नरहेको श्रेष्ठको भनाई छ । उनले खेलकुदलाई कुनै संघले बन्धक बनाएर राख्न नहुने बताए । 

श्रेष्ठले भने, ‘यो संघहरुको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन संघहरुले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै शतर्क गर्न चाहन्छु । अप्रिय निर्णय लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन । भार किन बनेर बस्ने ?’ 

उनले थपे, ‘जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी संघहरुले पनि केही प्राविधिक त्रुटी भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । संघहरुले क्यालेण्डर ननिकालेको भए यथाशिघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरु जिम्मेवार भएर हेरिदिनुस् ।’

फरक प्रसंगमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आईसीसी टि २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि लैजानका लागि घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति रहेको बताए । उनले सबै मिलेर मात्रै नेपाली खेल क्षेत्रलाई माथि लैजान सकिने बताए । 

घिसिङले भने, ‘हामीले नेपाली खेलकुदलाई घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति छ । यो कसको दायित्व हो । यो मेरो मम भन्ने स्थिति आउनुपर्छ । राष्ट्रिय संघहरुले मम भन्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्का विभिन्न शाखाहरुले मम भन्नुपर्छ । सबैले सामुहिक रुपले अपनत्व लिनुपर्ने स्थितिमा आइसकेका छौँ ।’

उनले खेलकुदलाई व्यवस्थित बनाएर लैजान सबै लाग्नुपर्ने बताए । 

Advertisement

Advertisement