काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अपर्झट इण्डियाको राजधानी नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन उनी शनिबार दिल्ली जान लागेका हुन् ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेश गर्दै नयाँ गठवन्धन सरकार बनाउने र मोदीले शनिबार शपथ ग्रहण गर्ने योजना छ । शपथ ग्रहणमा उपस्थित हुन दाहाललाई निम्तो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
इण्डियामा लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेस अलोकप्रिय बनेपछि भाजपा बलियो हुन पुगेको हो । भाजपाबाट मोदीले सन् २०१४ मा पहिलो कार्यकालका लागि प्रधानमन्त्री भएका थिए भने दोस्रो पटक सन् २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका थिए ।
अहिले भाजपालाई चन्द्रबाबु नायडुको तेलुगु देसम पार्टी (टीडीपी) र नीतीश कुमारको जनता दल युनाइटेड (जेडीयू) लगायतका गठबन्धनका दलहरूको साथ रहने छ ।