‘सरकारले हिमालमा प्याराग्लाइडिङ उडानको मापदण्ड नबनाउँदा ठूलो नोक्सान भइरहेको छ’

Advertisement

काठमाडौं । हिमालबाट प्याराग्लाइडिङ उडान गर्न सरकारले सहजीकरण गर्नुपर्ने प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उनले नेपालमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएका हिमालहरुमा यस्तो उडानका लागि सरकारी निकायले सहजीकरण गर्नुपर्ने बताएका हुन् । परीक्षण उडान नगरिएका हिमालहरुमा परीक्षण गरिनुपर्ने सुनुवारले बताए । 

Advertisement

कास्कीस्थित बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रा.लि.का सञ्चालकसमेत रहेका उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा शिखरहरुमा आठ वटा नेपालमा रहेको र अन्य थुप्रै पिकहरुमा प्याराग्लाइडिङ उडान अनुमति सहजीकरण राज्यले गरिदिए यसले साहसिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए । 

हाई अल्टिच्युड प्याराग्लाइडिङ उडान प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नयाँ नीति नियमहरु बनाउने क्रममा विगतमा गरेका प्याराग्लाइडिङ उडानको परीक्षण उडानको रिर्पोटअनुसार अब यसलाई अझ भरपर्दो, सुरक्षित गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने सुनुवारले बताए । 

उच्च हिमालबाट प्याराग्लाइडिङ उडान नहुनुको कारण त्यससम्बन्धी नयाँ नियम नबन्नु र मापदण्ड निर्धारण नहुनु हो भन्दै उनले सोही कुराको कारण हाल प्याराग्लाइडिङ उडान रोक्किएको बताए । सुनुवारले भने,  ‘नेपालमा विदेशी पर्यटकहरु उच्च हिमालबाट प्याराग्लाइडिङ उडान गर्न रुचाउँछन् । यसलाई रोकेर हुँदैन् । यसका लागि मैले संस्कृतिक, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसहित सबै सम्वन्धित निकायमा कुरा राखेको छु । विगतमा भइराखेका आधारमा छिटोभन्दा छिटो खोल्नुपर्छ भनेर भनेको छु ।’

अब एक–दुई महिनाभित्र उडान गरेन भने देशको अर्थतन्त्र र साहसिक पर्यटन क्षेत्रलाई नै ठूलो धक्का पुग्ने भन्दै उनले अन्तर्राष्ट्रिय बजारमा नराम्रो सन्देश जाने बताए । सुनुवारले थपे, ‘हाई अल्टिच्युड प्याराग्लाइडिङ उडानको लागि विदेशबाट इन्क्वारीहरु आइरहेको छ । नेपालमा ठूला ठूला हिमशिखर भएकोले हाईअल्टिच्युड प्याराग्लाइडिङ उडान गर्न एक्दम सम्भावना छ । मैले पनि सगरमाथाबाट प्याराग्लाइडिङ उडान गरेको थिए । त्यसले पनि प्याराग्लाइडिङ उडानको अझ धेरै प्रचार भएको छ  ।’ 

उनले हिमालबाट प्याराग्लाइडिङ उडान गर्न दिएर त्यसको सफल परीक्षण पनि भइसकेको स्मरण गर्दै पर्यटकहरुबाट पाँच हजार मिटरभन्दा अग्ला हिमालहरुमा प्याराग्लाइडिङ उडान गर्नको लागि माग आइरहेको बताए । सुनुवारले हिमालबाट प्याराग्लाइडिङ उडान गर्न विशेषगरी यूरोपियन र अमेरिकन पर्यटकले चासो देखाउने गरेको बताए । चीनका केही पर्यटकहरुले पनि यसमा इच्छा राख्ने गरेको बताए । 

कतिपय पर्यटकहरुलाई हिमालको सफल आरोहणपछि फर्किने क्रममा कठिनाइ हुने र अलिकति बढी जोखिम हुने गरेकोले प्याराग्लाइडिङ उडानमार्फत उडेर तल आउँदा अझ साहसिक पर्यटन प्रवर्द्धन सहयोग पुग्ने सुनुवारको तर्क छ । उनले सगरमाथालगायतका उच्च हिमालहरुबाट प्याराग्लाइडिङ उडान गर्न मिल्ने बताए । 

Advertisement

Advertisement