काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको स्वीकार गरेका छन् ।
सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले शर्मालाई फिर्ता गर्नु गल्ती भएको स्वीकार गरेका हुन् । कुल ११ जना राजदूतलाई फिर्ता गर्ने निर्णय गरेका दाहालले अन्यका हकमा भने केही बताएनन् ।
भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको बताउँदै दाहालले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए ।
उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रश्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’
दाहालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको दावी गरे । उनले ओलीले सो धारणा सधैँ राख्दै आएको तर्क गर्दै पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताए ।
दाहालले गण्डकीका नेकपा (माओवादी केन्द्र) का सांसद फणिन्द्र देवकोटालाई निलम्वन गर्ने बताए । उनले स्वभाविक रुपमा पार्टीले ह्वीप जारि गरिसकेको भन्दै संविधान र कानूनको मर्म विपरित फ्लोर क्रस गरेकालाई निलम्वन गर्ने बताए ।
प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताए ।