दीगो विकासका लागि बाह्य सहयोग र लगानी भित्र्याउनु पर्छः अर्थमन्त्री

Advertisement

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन् । 

चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन् । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका थिए । 

Advertisement

उक्त अवसरमा मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित  विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए । दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धीमुलक भएको उल्लेख गरे । 

बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरुका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौँ भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु’, उनले भने, ‘तपाईंहरुले अविकसित मुलुकहरुका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।’ 

बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरु विकास सझेदारहरुबाट विकास वित्त  प्राप्त गर्दै आएका आईडीए मुलुकहरु र ऋण दाता मुलुकहरुका लागि खुसीको विषय भएको मन्त्री पुनले  बताए । आईडीए मुलुकहरुलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक  बनाउन बैठकले निकालेका निस्कर्ष प्रभावकारी हुने विश्वास उनको थियो । 

उनले धेरै आईडीए मुलुकहरुले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याए । उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘यी चुनौतीहरुका कारण विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताको प्रतिबद्धता माग गर्दछ’, उनले भने ।

उनले आईडीए मुलुकका जनताका लागि विद्युत पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे । मन्त्री पुनले जलवायु परिवर्तन, लैङ्गिक असमानता, गरिबी अन्त्यजस्ता एजेण्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको औंल्याए ।

Advertisement

Advertisement