भयंकर लोकतन्त्रवादी हौँ भन्थे, महामन्त्रीलाई पार्टीबाट निकालेछन्ः भीम रावल

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए । रावलले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताउ । 

Advertisement

भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउादै रावलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए । 

उनले नागरिकता, राहदानी दुई–दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए । रावलले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको बताए । उनले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताए । 

सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको रावलको भनाई छ । उनले भने, ‘हुन त आजकाल सोध्न पनि पाइँदैन । भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिवले के के सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ । भन्नेबेला भयंकर लोकतन्त्र हामी । ए यस्तो लोकतन्त्र । त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो । भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा । त्यसपछि गएर ठगी । अनि निजलाई देशको सम्पूर्ण जिम्मा । म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न । उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन् ।’

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताए । 

Advertisement

Advertisement