बैंकिङ क्षेत्रमा थुप्रियो हालसम्मकै उच्च निक्षेप, तर छैन कर्जाको माग बढ्ने संकेत

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारण लगायतका बचतकर्ताको निक्षेप ६२ खर्ब ६५ अर्ब रुपियाँ पुगेको छ । 

गत बुधबारसम्म बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको हो, जुन हालसम्मकै उच्च हो । राष्ट्र बैंकले प्रकाशन गरेको निक्षेप–कर्जा सम्बन्धी तथ्यांकअनुसार गत बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ९० अर्ब रुपियाँ निक्षेप थियो । 

Advertisement

जेठ यता भने त्यो उच्च मात्रामा बढेको देखिन्छ । असार मसान्त नजिकिएसँगै सरकारको खर्च रकम बढेको छ । त्यसले निक्षेप बढाउन सहयोग पुगेको बैंकहरु बताउँछन् । कुल निक्षेपमा बाणिज्य बैंकमा मात्रै ५५ खर्ब ४६ अर्ब निक्षेप रहेको छ । 

अन्य बैंक तथा वित्तीय संस्थामा भने सात खर्ब १८ अर्ब निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

यता कर्जा प्रवाह भने ५१ खर्ब ३५ अर्ब रुपियाँ मात्रै छ । गत बैशाख मसान्तसम्म बैंक तथा वित्तीय सस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब १३ अर्ब रुपियाँ थियो । निक्षेप बढेपनि कर्जाको माग बढ्न नसकेको तथ्यांकले पुष्टी गरेको छ । 

आर्थिक क्षेत्रमा देखिएको शिथिलता र सरकारको खर्च गर्ने क्षमतामा तत्काल सुधार हुने कुनै संकेत नदेखिएकाले कर्जाको माग बढ्ने संकेत पनि देखिन्न । सरकारले लगानीकर्तालाई लगानीको आकर्षण गर्नसक्ने संकेत देखाउन सकेको छैन् । 

कुल कर्जामा बाणिज्य बैंकले मात्रै ४५ खर्ब ४३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैंक तथा वित्तिय संस्थाको कर्जा प्रवाह पाँच खर्ब ९३ अर्ब रुपियाँ देखिएको छ । 

हाल बैंक तथा वित्तिय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.८३ प्रतिशत छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशत हुने गरि कर्जा लगानी गर्न पाउँछन् । त्योअनुसार बैंकहरुले अझै निक्षेपको १०.१७ प्रतिशत रकम लगानी गर्न सक्छन । 

हाल कायम निक्षेपको १०.१७ प्रतिशत अर्थात् छ खर्ब ३७ अर्ब रुपियाँ रकम बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न सक्ने देखिन्छ । तर, पछिल्लो समयको आर्थिक शिथिलता कर्जाको माग बढेको छैन । व्याजदर न्यून विन्दुमा आउँदा समेत कर्जाको माग बढेको छैन । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थामा उक्त पैसा यतिकै थुप्रिएको छ । 

Advertisement

Advertisement