कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजान्छु भनेको छः परराष्ट्रमन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् । 

मंगलवार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा उनले इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लाने जानकारी दिएको बताए । 

Advertisement

कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्याउने लक्ष्य कुवेतको रहेको बताउँदै श्रेष्ठले कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दुतावास खोल्ने जानकारी दिएको बताए । 

उनले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री, म्यानमारका विदेश मन्त्री, बहराइनका विदेश मन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए । 

रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए । मन्त्री श्रेष्ठले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिए । 

उनले नेपाली नागरिकहरु रुसी सेनामा सहभागी हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाईते भएको कति नेपालीहरु रुसी सेनामा सहभागी भएको भन्ने यकिन तथ्यांक नभएको बताए । श्रेष्ठले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए । 

Advertisement

Advertisement