बालेनको ‘पढ्दै कमाउँदै’ नीतिलाई गुरुङको साथ, भाटभटेनीले दुई हजारलाई ‘पार्टटाइम’ जागिर दिने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आगामी आर्थिक बर्षका लागि ल्याएको ‘पढ्दै कमाउँदै’ नीतिसँग मिल्नेगरी नेपालको सबैभन्दा ठूलो सपिङ चेन भाटभटेनीले योजना घोषणा गरेको छ । 

बालेनले अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा ‘पढ्दै कमाउँदै’ नीति अघि सारेका थिए । भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले पनि ‘पार्ट टाइम’ काम गर्न चाहने विद्यार्थीहरुका लागि रोजगारीको घोषणा गरेका हुन् । यद्यपि भाटभटेनीले यस्तो रोजगारी काठमाडौंसहित अन्य स्थानमा आफ्ना स्टोरहरुमा पनि उपलब्ध गराउने छ ।

Advertisement

पढ्दै काम गर्न चाहने विद्यार्थीहरुलाई अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । हाल छ हजारलाई रोजगारी दिँदै आएको भाटभटेनीले दैनिक आठ घण्टा काम गरेका आधारमा पारिश्रमिक दिँदै आएकोमा ‘पार्ट टाइम’ जागिर गर्नेलाई काम गरेको समयका आधारमा पारिश्रमिक निर्धारण गरी हरेक हप्ता भुक्तानी गरिने छ । 

देशका विभिन्न स्थानमा बाल अस्पताल निर्माण अभियान सुरु गरेका डा. भगवान कोइरालालाई ४१ करोड आर्थिक सहयोग गरेर प्रसंशा पाएका गुरुङले नयाँ अवधारणाबाट रोजगारी सिर्जनामा योगदान दिन लागेका हुन् ।

यस्तो जागिरको अवसर कुनै उच्च माध्यमिक विद्यालय वा कलेजमा अध्ययन गरिरहेका २१ बर्ष कम उमेरका युवा युवती हुनुपर्नेछ । उनीहरुले दैनिक चार घण्टा मात्रै काम गर्न पाउनेछन् । यो खालको जागिरको अवधारणा पश्चिमा मुलुकमा रहँदै आएकोमा नेपालमा पनि सुरु गर्न लागिएको हो । 

पढ्ने समयमा असर नपर्ने गरी विद्यार्थीहरुलाई काम गर्न अवसर दिइने छ । रोजगारी र अवसरको अभावले युवहरु पलायन हुने क्रम बढ्दो रहेकाले त्यसलाई रोक्न सहयोग गर्ने र विद्यार्थीहरुलाई आफ्नो अध्ययनका लागि आफै कमाउनसक्ने अवसर पनि सिर्जना गर्न यस्तो सोच बनाइएको भाटभटेनीको भनाई छ । 

Advertisement

Advertisement