जेठमा झण्डै ७३ हजार कामदार निर्यात, पछिल्लो डेढ बर्ष यताकै उच्च

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को जेठमा मात्रै ७२ हजार ८६१ जना नेपाली बैदशिक रोजगारीमा गएका छन् । त्यसमा ४८ हजार ४९ जना भने नयाँ श्रम स्वीकृत (पहिलो पटक) लिएर वैदेशिक रोजगारीमा गएका हुन् । 

वैदेशिक रोजगार बिभागबाट प्राप्त जेठ महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जेठ महिनामा ६४ हजार ८८६ जना पुरुष र सात हजार ९७५ जना महिला नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

Advertisement

मासिकरुपमा यो पछिल्लो डेढ बर्ष यताकै उच्च हो । यसअघि २०७९ कात्तिकमा ७८ हजार ३७० जना नेपाली बैदेशिक रोजगारीमा गएका थिए । त्यसपछि २०७९ मंसिरमा ६८ हजार ५६४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अहिले जेठ महिनामा भने ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

समीक्षा महिनामा नेपालीहरु रोजगारीका लागि बिभिन्न १०० वटा देशमा पुगेको देखिन्छ । त्यसमा सबै भन्दा धेरै युएईमा गएका छन् । तथ्यांकअनुसार जेठ महिनामा उक्त देशमा २० हजार ४२४ जना नेपाली कामदार गएका छन् । दोस्रो स्थानमा भने साउदी अरब रहेको छ । जेठमा उक्त देशमा १३ हजार ३६६ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् ।

तेस्रो स्थानमा भने कतार रहेको छ । जेठमा उक्त देशमा ११ हजार ९७३ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । समीक्षा अवधीमा ब्राजिल, भेदनाम, युगान्डा लगायतका १८ देशमा भने १–१ जना नेपाली रोजगारीका लागि गएका छन् ।
चालु आवको ११ महिना अर्थात् साउन देखि जेष्ठसम्म भने ६ लाख ८२ हजार ५६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

यो गत आवको सोही अवधीको तुलनामा करिब पाँच प्रतिशतले कम हो । गत आवको सोही अवधीमा सात लाख १६ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवभरमा भने ७ लाख ७१ हजार ३३१ नेपाली बैदेशिक रोजगारमा गएका थिए, त्यो बार्षिक रुपमा हालसम्मकै उच्च हो । 

यो आव साउनमा ५५ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । त्यसपछि भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । यसैगरि फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र बैशाखमा ७० हजार ६३७ जना नेपाली वैदेशीक रोजगारीमा गएका छन् । जेठमा भने ७२ हजार ८६१ जना  नेपाली वैदेशिक रोजगारमा गएका छन् । 

Advertisement

Advertisement