होक्काइडोको स्वादले लोकप्रिय बनेको होक्काइडो रेष्टुरेन्टहरु

Advertisement

काठमाडौं । अर्जुन अधिकारी जापानको होक्काइडो भन्ने ठाउँमा रेष्टुरेन्ट व्यवसायमा जमेका व्यक्ति हुन । सो ठाउँमा झण्डै दुई दर्जन स्थानमा रेष्टुरेन्ट खोल्न सफल भएपछि उनलाई नेपालमा जापानी ब्राण्डमा रेष्टुरेन्ट खोलेर व्यापार गर्ने रहर जाग्यो । 

सन् २००१ देखि जापानमा बस्दै आएका अधिकारीले एकै सोच भएका छ जना साथीहरुको समूह बनाए र त्यसको नाम दिए होक्काइडो नेपाल बिजनेस ग्रुप । सोही नामको कम्पनीका अध्यक्ष हुन अर्जुन अधिकारी । विभिन्न क्षेत्रका मानिसहरु रहेको उनको समूहले ‘होक्काइडो’ नाममा सात वटा रेष्टुरेन्टहरुको चेन बनाइसकेको छ । त्यसको पहिलो सुरुवात ‘होक्काइडो रामेन हाउस’ थियो जसको सुरुवात २०७४ सालमा बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट अगाडिबाट भएको थियो । 

Advertisement

नेपालमा जापानी खान विस्तार गर्ने सोचका साथ आफूहरुले होक्काइडो ब्राण्डको रेष्टुरेन्ट सुरु गरेको तिनै चेनहरुमध्येको एक डेक्काइडो ओन्सेन ९डेक्काइडो फार्म हाउस०का प्रबन्ध निर्देशक एवं अधिकारीकै टिमका एक सदस्य खेमनाथ शर्मा बताउँछन् । उनले अहिले आफूहरुको खाना नेपालीहरुले पनि निकै रुचाएकोदावी गरे ।

उनका अनुसार रामेनपछि दोस्रोमा बालुवाटारमा डेक्काइडो फार्म हाउस, बालुवटारकै बगैंचा रेस्टुरेन्टभित्र ओमाकासे रेस्टुरेन्ट, लाजिम्पाटको र्याडिसन होटल नजिक इजाकाया होक्काइडो, बौद्धमा होक्काइडो बेन्टो हाउस, सानेपामा इन्टरनेशनल क्लब र लाजिम्पाटमै लि शेर्पा सञ्चालनमा ल्याइएको छ । 

पढाइको सिलसिलामा २००८ मा अष्ट्रेलिया पुगेका शर्मा अधिकारीसँगको सहकार्यमा रेष्टुरेन्ट सुरु गरेका हुन् । सुरुमा सरसफाइ क्षेत्रमा लागेका उनले अष्ट्रेलियामा १२ वर्षदेखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । सरसफाई व्यवसायपछि शर्मा अहिले नेपालीलाई जापानको अर्गानिक स्वादका खाना खुवाउन सक्रिय छन् । 

उनले भने, ‘रेस्टुरेन्ट व्यवसाय मेरो लाइनको थिएन । पहिला म सरसफाइ लाइनको मान्छे । तर रेस्टुरेन्टमा सरसफाइ एक्दम चाहिने हुँदा हस्पिटालिटि क्षेत्र सरसफाइसँग नजिकको व्यवसाय हो । म पनि अहिले यसमा आइपुगे ।’

होक्काइडो रेष्टुरेन्टका शाखाहरुमा अहिले १७० जना मानिस कार्यरत छन् । शर्माको डेक्काइडो फार्म हाउसमा सिटिङ क्षमता २१२ जनाको रहेको छ भने शनिबार बढी भीड हुन्छ । उक्त दिन क्षमताभन्दा बढी साढे चार सयदेखि साढे पाँच सयलाई सेवा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । 

शर्माले भने, ‘नेपालमा जापनिज खानाको कल्चर बढेको छ । धेरैले चासो दिने गरेको गुगल रिभ्युबाट पनि देखिन्छ ।’ जापानी खाना स्वस्थकर हुने भन्दै शर्माले विशिष्ट व्यक्तिहरुले समेत आफूहरुको रेष्टुरेन्टमा आउने गरेको बताए । धेरै पाउनाले बस्न रुम र कार्यक्रम गर्न हल पनि खोज्ने गरेको सुनाउँदै उनले निकट भविष्यमा १० वटा जति रुम निर्माण गर्ने र हल पनि बनाउने योजना रहेको बताए । 

आफूहरुले जापानीबाहेक नेपाली र इटालियन परिकार पनि बनाउने शर्माले सुनाए । उनले निकट भविष्यमा पाँचदेखि छ देशका खानाहरु उपलव्ध गराउने बताए । शर्माले भने, ‘कुनै पनि कामप्रति लगाव र अनुशासन भए नेपालमा ठूलो अवसर छ । अहिले विदेशमा गएकाहरुले पनि विदेशमा भन्दा नेपालमा फर्किएर झन राम्रो गर्न सक्छन् । त्यो वातावरण बन्दै गएको छ ।’ 

Advertisement

Advertisement