भारी बर्षाले काठमाडौं नै डुवानमा, एक जनाको मृत्यु, दर्जनौं विस्थापित

Advertisement

काठमाडौं । भारी बर्षापछि शनिबार काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा आएको बाढीले धेरै ठाउँ डुवानमा परेका छन् भने एक जनाको मृत्यु भएको छ । 

पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाका घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो ।

Advertisement

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार भान्सामा सहयोगीको काम गर्ने बिक पहिरोमा परी गम्भीर घाइते भएपछि अस्पताल लगिएको र उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

वर्षाका कारण वागमती, बिष्णुमतीलगायतका काठमाडौंका सबै नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमीको दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवानमा परेपछि उनीहरुको विचल्ली भएको छ । 

भक्तपुर कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाउनुका साथै चागुनारायणको नयाँ खोरियामा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ ।

वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको, काठमाडौंको घट्टेकुलोमा भित्री सडक भासिएको भन्दै प्रहरीले उपत्यकाका खोला किनार अहिलेसम्म भने खतरामुक्त रहेको बताएको छ । 

संभावित विपद कार्यमा खोज तथा उद्दार कार्यका लागि प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । केही प्रहरीहरु अनुगमनका लागि परिचालन गरिएको छ । नदी खोलास्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह पनि गरेको छ ।

Advertisement

Advertisement