नाथम र माउन्टेन एकेडेमीको फोर्स मर्जर प्रतिउत्पादक हुन्छः शेर्पा

Advertisement

काठमाडौं । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी)लाई नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानिज्मन्ट (नाथम)सँग मर्ज (एकीकरण) गर्दा हिमाली पर्यटनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रयास अवरुद्ध हुने प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले बताएकी छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई संकुचित बनाउने र हिमाली पर्यटनका लागि आवश्यक जनशक्ति नेपालमै उत्पादन गर्न आफूहरुले अघि बढाएको अभियानलाई कमजोर बनाउन खेल भइरहेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताइन् । 

Advertisement

यो प्रतिष्ठान हिमाल आरोहण र पदयात्रा क्षेत्रमा काम गर्नेहरुलाई प्राविधिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्न सुरु गरिएको नेपालकै पहिलो शैक्षिक संस्था हो । यो संस्थालाई नाथमसँग गाभ्दा प्रतिष्ठान ओझेलमा पर्ने, नयाँ संस्थाले नेपालको आवश्यकताअनुसार हिमाली पर्यटनका लागि पर्याप्त जनशक्ति उत्पादन गर्न नसक्ने शेर्पाको तर्क छ । 

उनले भनिन्, ‘हिमालमा जोखिम बढ्दो क्रममा छ । पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा सरकार पर्वतारोहण क्षेत्रप्रतिको दायित्वबाट पन्छिने प्रयास गर्दैछ । हाम्रो हिमाली क्षेत्रलाई कसरी बढीभन्दा बढी म्यानपावर विकास गर्ने, त्यसका लागि कसरी हाम्रो पूर्वाधारहरु बनाउने ? भन्दा पनि भएको एउटा संस्थालाई विलय गराउन खोज्दैछ । यो कुरा गलत हो । पर्यटन क्षेत्रलाई यसलाई रोक्नुपर्छ ।’

गत वर्ष माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दुई संस्था गाभ्ने निर्णय गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा पयर्टन मन्त्रालय मातहत रहेका एकै प्रकारका दुई शैक्षिक संस्थालाई गाभ्दै एउटा संस्था बनाउने घोषणा गरेको थियो ।

यो प्रतिष्ठानको स्थापनादेखि हालसम्म तीन ब्याचका विद्यार्थीहरुले पासआउट गरिसकेका छन् । स्नातक तहमा करिब ८० जना विद्यार्थी र स्नातकोत्तर तहमा २५ जना विद्यार्थीले पासआउट गरिसकेको प्रतिष्ठानको भनाई छ । पढाइ सकेर गएका विद्यार्थीहरु नेपालका विभिन्न एक्स्पडिशन कम्पनीहरुमा आवद्ध भई काम गरिरहेका छन् । 

नेपाल हिमालले चिनिएको देश भएको र पर्यटन क्षेत्रमा हिमाली पर्यटन महत्वपूर्ण हिस्सा भएकाले यस क्षेत्रको विकासलाई विशेष महत्व दिनुपर्ने पूर्वअध्यक्ष शेर्पाले बताइन् । उनले त्यसलाई प्रतिष्ठानले झन् मजबुत बनाउन प्रयास गरेको बेला यसको अस्तित्व मेटाउन खोजिएको गुनासो गरिन् । यस प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्ने ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवारपन देखाएको शेर्पाको तर्क छ ।

उनले भनिन्,  ‘भारत जस्तो देश, जहाँ विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुमध्ये एउटा पनि छैन्, मा ‘हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट’ स्थापना गरेर पर्वतारोहणसम्बन्धी तालिम दिइन्छ । जबकी नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश हो । यहाँँ त अनिवार्य छुट्टै संस्थाको आवश्यकता छ । तर भएको संस्थाको अस्तित्व पनि मिलाउन खोजिएको छ ।’ 

नाथम र प्रतिष्ठानलाई स्वतन्त्र र सबलरुपमा अघि बढाउनुपर्ने उनको सुझाव छ । शेर्पाले पर्वतारोहण भनेको होटल र आतिथ्यताभन्दा फरक विषय हो भन्दै यसको लागि छुट्टै संस्था भए पहिचान पनि दिने बताइन् । नाथम र प्रतिष्ठानले पढाउने विषय नै नमिल्ने भएकाले पनि दुवै संस्थालाई मर्ज गराएर राम्रो नजिता नआउने उनको भनाई छ । 

शेर्पाले थपिन्, ‘फोर्स मर्जर गराउँदा दुवै संस्थको उद्देश्य संकुचित हुन्छ । त्यसबाट अपेक्षित उपलब्धी हासिल गर्न गाह्रो छ । पर्वतारोहणसम्वन्धी अध्ययनका लागि एक स्तरको पूर्वाधार बनाउने काम भइसकेको छ । सोलुखुम्बुको गार्मामा तीन हजार रोपनीमा भवनहरु पनि निर्माण भइसकेको छ । नाथम पूरानो भए पनि १५ वर्ष अगाडि बनेको करोडौं लगानीको भवनमा अहिलेसम्म होटल सञ्चालन गर्न नसकी अलपत्र छ । प्रतिष्ठानलाई लगेर नाथममा मिलाएर काम गर्न कि गर्दैन् ? भन्न सकिन्न ।’ 

सरोकारवालासँग छलफल नगरी नाथम र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान मर्ज गर्न खोजिएको गुनासो उनले गरिन् ।  नाथममा आन्तरिक द्वन्द चर्केर आफै चल्न नसकेको अवस्थामा प्रतिष्ठानलाई गाभेर झन कसरी चल्छ ? भन्दै उनले सरकारले आफ्नो निर्णयमा पुर्नर्विचार गर्नुपर्ने बताइन् । 

हाल नाथममा मास्टर्स इन हस्पिटालिटी म्यानेटमेन्ट (एमएचएम), ब्याचलर्स अफ होटल म्यानेटमेन्ट (विएमएम) र ब्याचलर्स अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) विषयको पढाइ हुन्छ । साथै नाथमले ट्रेकिङ गाइड, टुरिष्ट गाइड, कुकिङ, हाउस किपिङ, बेकरी, कफी मेकिङ जस्ता तालिम पनि सञ्चालन गर्ने गरेको छ । 

यस्तै, प्रतिष्ठानमा ब्याचलर्स अफ माउन्टेनियरिङ स्टडिज, मास्टर्स अफ एडभेन्चर टुरिजम स्टडिज विषय पढाइ हुन्छ । साथै एकेडेमीले स्कि, ट्रेकिङ गाइड, हाइ माउन्टेन गाइड, माउन्टेन सेफ्टि फस्ट एड ट्रेनिङ पनि सञ्चालन गर्ने गरेको छ । दुवैले त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएका हुन् । 

Advertisement