रास्वपाका मन्त्रीलाई एमाले साँसदको प्रश्न– गोजीमा भएको राजीनामापत्र खोई त ?

Advertisement

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? भनि प्रश्न गरेका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा उनले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए । 

Advertisement

दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि रास्वपाका मन्त्रीले राजीनामा खुत्रुकेमा हालेका बर्तौलाको टिप्पणी छ । उनले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो ? खोल्नका लागि चुनौती समेत दिए । 

बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सिमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामापत्र हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ । ती साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने । सरकारबाट फिर्ता हुने । प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो । त्यसपछि राजीनामापत्र खुत्रुकेमा जतनसाथ राखेर साथीहरु फर्किनुभएको छ ।’ 

उनले थपे, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईहरु पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहान्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईहरुले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ति सूचना तपाईले दिनुपर्छ ।’

बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए । 

Advertisement

Advertisement