भारततर्फको आयात ३.१ प्रतिशतले घट्दा चीनतर्फको आयात ३४.८ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ को पहिलो ११ महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु.एक खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक स्थितिअनुसार निर्यातमा केही कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । 

Advertisement

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रु.१४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो । 

वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

चालु आवको ११ महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

Advertisement

Advertisement