‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक ‘बेसिक मोड’ र ‘डिस्कभर’

Advertisement

काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । 

एनसेल आजियटा लिमिटेडले यसलाई सम्भव बनाएको बताएको हो । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

Advertisement

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ । 

विशेष गरी टूजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक हुने कम्पनीको भनाई छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरुमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसि अर्थात उचित उपयोग नीति लागु हुने जनाइएको छ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउने र कम्पनीको ‘सधैं अन’ क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरुका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहिरहने कुराको सुनिश्चित गर्ने विश्वास गर्दै एनसेलले यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्ने बताएको छ । 

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरि इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध नहुने एनसेलले जनाएको छ । 

यसैगरी, स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरुले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।
 

Advertisement