नब्बे प्रतिशत कर्जामा सम्पत्ति धितो, घरजग्गा धितोमा मात्रै ३५ खर्ब ऋण

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा मध्ये करिब ९० प्रतिशत कर्जा ‘सम्पत्ति धितो’मा प्रवाह भएको देखिएको छ । 

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक बर्ष २०८०–८१ को जेठ मसात्सम्मको तथ्यांकले यस्तो देखाएको हो । 

Advertisement

जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कूल कर्जा प्रवाह ५१ खर्ब ३४ अर्ब ४० करोड रुपियाँ छ, त्यसमा ४५ खर्ब ८२ अर्ब ५८ करोड रुपियाँ कर्जा सम्पत्ति धितोमा प्रवाह भएको छ  । जुन कूल कर्जाको ८९.२५ प्रतिशत हो ।
 
घरजग्गा, सवारी साधन, मेसिन, फर्निचर सामग्री जस्ता स्थिर सम्पत्ति र कृषि तथा गैर कृषि बस्तु धितो राखेर सो बराबरको कर्जा प्रवाह भएको हो । 

त्यसमा घरजग्गा धितोमा मात्रै ३५ खर्ब १५ अर्ब ३८ करोड रुपियाँ कर्जा प्रवाह भएको छ । कूल कर्जा प्रवाहमा घरजग्गा धितो कर्जाको हिस्सा ६८.४६ प्रतिशत देखिएको छ । १० खर्ब ६७ अर्ब २० करोड ३७ लाख रुपियाँ भने अन्य सम्पत्ति धितो राखेर प्रवाह गरिएको छ । 

नेपालको कर्जा प्रवाह प्रणाली अझै पनि पराम्परागत अर्थात् धितोमा आधारित छ । बैंकबाट धितो बिना कर्जा पाउन एकदमै चुनौती छ । बैंकहरुले घरजग्गा सहितका सम्पत्ति, सुनचाँदी धितो, ट्रेजरी बिल लगायतको आधारमा कर्जा प्रवाह गर्दै आएका छन् । 

कुनै व्यक्तिगत जमानीमा पनि बिना धितो कर्जा प्रवाह हुने गर्छ । तर, त्यो बैंकका नजिक बाहेकका व्यक्ति तथा सर्वसाधारणलाई सम्भव छैन । तसर्थः अझै पनि धितोमै आधारित कर्जा प्रवाह गरिन्छ । त्यसमा पनि घरजग्गा धितोमा सबै भन्दा बढी कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।

यसले नेपाली बैंकिङ क्षेत्रले प्रवाह गरेको कर्जालाई सुरक्षित भएको देखाउँछ । ऋणीले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बैंकहरुले उक्त सम्पत्ति लिलामी गरेर ऋण असुल गर्न सक्छन् । त्यही कारण नेपालमा निष्क्रिय कर्जा अनुपात पनि कम भएको बताइन्छ । दक्षिण एसियामा सबै भन्दा कम निष्क्रिय कर्जा भएको मुलुक नेपाल हो । 

धितोमा आधारित कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जा अनुपात कम हुने गरेको बैंकहरु बताउँछन् । जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निष्क्रीय कर्जाको अनुपात औसत ३.९८ प्रतिशत छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले निष्क्रिय कर्जा अनुपात केही बढेको भने छ । 

सामान्य अवस्थामा यस्तो अनुपात १–२ प्रतिशतमा सिमित हुन्छ । यसरी सम्पत्ति धितोमा कर्जा प्रवाह गर्दा जोखिम कम भएको बैंकहरु बताउँछन् । तर, धितोमा कर्जा दिने नीतिका कारण सम्पत्ति नभएका वा कम सम्पत्ति भएका सर्वसाधारण भने यस्तो सेवाबाट बञ्चित भएका छन् । बिभिन्न मुलुकमा क्रेडिट स्कोरिङका आधारमा समेत सर्व साधारणलाई कर्जा दिइन्छ । 

विदेशमा आम सर्वसाधारणको आम्दानी र उसले तिर्ने कर, बैंक स्टेटमेन्ट, इन्टरनेट, खानेपानी तथा बिजुलीको महशुल भुक्तानीको विवरण लगायतको आधार क्रेडिट स्कोरिङ गरिन्छ । त्यसकै आधारमा बैंकले बिना धितो कर्जा प्रवाह गर्छन् । तर, नेपालमा क्रेडिट कार्ड र जमानीमा प्रवाह गरिने बाहेकको कर्जा धितोमा नै निर्भर छ । नेपाल पनि परियोजना धितो, क्रेडिट स्कोरिङमा कर्जा प्रवाह गर्ने नीति ल्याइएको छ । तर, त्यो कार्यान्वयनमा आइसकेको छैन ।

तथ्यांकअनुसार बैंकहरुले सुनचाँदी धितोमा ५७ अर्ब ५९ करोड ६३ लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी सरकारी धितोपत्र धितोमा तीन अर्ब १८ करोड २१ लाख रुपियाँ, गैर सरकारी धितोपत्र धितोमा ७१ अर्ब ६१ करोड १९ लाख रुपियाँ र मुद्दती निक्षेप धितोमा ३८ अर्ब ५३ करोड ८४ लाख रुपियाँ कर्जा प्रवाह भएको छ ।

यस्तै, बिल ग्यारेन्टीमा ५५ अर्ब २६ करोड ३३ लाख रुपियाँ र जमानीमा एक खर्ब ९० अर्ब ९३ करोड ४० लाख रुपियाँ कर्जा प्रवाह भएको छ । भुक्तानी पाउन बाँकी रहेको बिलको आधारमा पनि बैंकहरु कर्जा प्रवाह गर्न सक्छन् । सरकारी, संस्थागत, व्यक्तिगत लगायतका जमानीको आधारमा पनि बैंकले कर्जा प्रवाह गर्न सक्छन्

समीक्षा अवधीसम्म क्रेडिट कार्डबाट पाँच अर्ब ७९ करोड २२ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । अन्य बिभिन्न माध्यमबाट समीक्षा अवधीसम्म एक खर्ब २८ अर्ब ८८ करोड ५८ लाख रुपियाँ कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।
 

Advertisement

Advertisement