कैलाश मानसरोवर जान नेपाली भूमिमा सडक बनाए पनि चीनले भारतीयलाई भिसा दिएन

Advertisement

काठमाडौं । हिन्दूहरुको निकै ठूलो आस्थाको केन्द्र कैलाश मानसरोवर जान खोज्ने भारतीय धार्मिक पर्यटकलाई चीनले प्रवेशाज्ञा (भिसा) दिन अझै अस्वीकार गरेको छ । 

कैलाश मानसरोवर जानभन्दै नेपाली भूमिमा भारतले सडक समेत बनाइरहेको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेको तिब्बतको कैलाश मानसरोबार यात्रा नेपालीसहित अरु विभिन्न मुलुकका पर्यटकलाई खुल्ला गरिएको दुई बर्षभन्दा भइसके पनि भारतीय र श्रीलंकाली पर्यटकलाई भिसा दिन मानेको छैन् । 

Advertisement

चीनले भारतीय र श्रीलंकालाई कैलाश मानसरोवर यात्राका लागि प्रतिवन्ध गरेको करिव पाँच बर्ष पुगेको एशोसियशन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष तेन्जिन नोर्बु लामाले बताए । उनले अरु देशका यात्रुलाई भिसा दिए पनि भारतीय र श्रीलंकाली पर्यटकलाई भिसा नदिनुको अर्थ आफूहरुले बुझ्न नसकेको बताए । 

श्र्पाका अनुसार हाल कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तथा श्रीलंकाली नभए पनि नेपाली र विदेशीहरुको चहलपहल भने बढेको बताए । भारतीय तथा श्रीलंकालीलाई यात्रा गर्नबाट रोक्न नलागेको भए चहलपहल अझै बढ्ने थियो भन्दै उनले अर्को सिजनबाट भारतीय तथा श्रीलंकालीलाई पनि चीनले यात्रा अनुमति दियोस भन्ने आफूहरुको अपेक्षा रहेको बताए । 

शेर्पाले भने, ‘सन् २०१९ को तुलनामा अहिले ५० प्रतिशत जति पर्यटकहरु कैलाश मानसरोवर यात्रा गर्न आइरहेका छन् । मे महिनादेखि आगामी सेप्टेम्बरसम्म करिब चार हजार जति कैलाश यात्रा गर्ने पर्यटकको संख्यामा पुग्छ होला । चीनले भारतीयलाई खुल्ला नगर्दा हामी व्यवसायीहरुलाई ठूलो असर परेको छ ।’ 

चीनले भारतीय र श्रीलंकालीलाई कहिलेदेखि यात्रा गर्न दिन्छ ? अहिलेसम्म कुनै संकेत नदिएको उनको भनाई छ । नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गर्थे । तर चीनले विशेषगरी भारतीय पर्यटकलाई यात्रा अनुमति नदिँदा यो संख्यामा भारी गिरावट आएको छ । .नेपाल हुँदै कैलाश यात्रामा जान सहज र कम खर्चिलो हुने भएकाले भारतीयसहित अरु देशका पर्यटक नेपाल हुँदै जाने गर्छन् । 

तर नेपालको सरकारको कमजोरीको फाइदा उठाउँदै भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएर कैलाश यात्रा सहज बनाउने प्रयासमा लागेको छ । अहिले नेपालको नेपालगञ्ज, सिमीकोट हुँदै हिल्सा नाकाबाट र काठमाडौं रसुवागढी हुँदै केरुङ नाकाबाट मानसरोवर पुग्न सकिन्छ । कैलाश यात्रा गर्न चीनले खुला गरेपछि नेपालका होटल व्यवसायसहित समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । भारतीय र श्रीलंकालीलाई पनि खुला गरिदिन नेपाली पर्यटन व्यवसायीले आग्रह गर्दै आएका छन् । 

कैलाश यात्रामा जाने धार्मिक पर्यटकहरुले पशुपतिनाथ र मुक्तिनाथ पनि दर्शन गर्ने भएकाले नेपालमा पर्यटक आगमनमा पनि वृद्धि हुने पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटकहरु नेपाल हुँदै कैलाश जानुपर्ने भएकाले नेपालमा धार्मिक पर्यटक बढ्ने अध्यक्ष तेन्जिन नोर्बु लामाले बताए । 

कैलाश यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’ को रुपमा हेरिन्छ । कैलाश भनेको खाङ रिम्पोचे भएको र यसले हिउँको बहुमूल्य रत्नलाई जनाउने धार्मिक व्यक्तिहरुको भनाई छ । माउन्ट कैलाश (६,७१४ मिटर) उचाइमा रहेको छ । निकै ठूलो शक्ति रहेको मानिने यस पहाडमा भगवान शिव पार्वतीको वास हुने धार्मिक विश्वास छ । कतिपय इतिहासविद्हरुले यो पर्वत नेपालको भए पनि नेपालको शासकहरुले दावी गर्न असफल भएको बताउने गरेका छन् । 

कैलाश मानसरोवरलाई हरेक वर्ष हजारौं तीर्थयात्रीहरूले परिक्रमा गर्छन् । यसको यात्रा काठमाडौं–ल्हासा हवाई मार्ग, काठमाडौं–हिल्सा स्थल मार्ग, काठमाडौं–केरुङ रुट, काठमाडौं–तातोपानी रुट हुँदै जान सकिन्छ । मेदेखि सेप्टेम्बर सम्म कैलाश कैलाश यात्राको उपयुक्त समय हो । 

Advertisement