नबिल बैंक परिसरमा ‘चार दशक नेपालको’ शीर्षकमा फोटो प्रदर्शनी, एक साता चल्ने

Advertisement

काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकमा फोटो प्रदर्शनी सुरु गरेको छ । 

प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरिएको बैंकले जनाएको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । 

Advertisement

प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले फोटो प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । 

उनले भने, ‘तस्वीर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो । प्रदर्शनीमा राखिएका तस्वीरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’ उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए ।

प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतिघरमा रहेका घर भत्काउँदैका तस्वीरदेखि ५० सालतिर काठमाडौँको भरपर्दो यातायातको साधन बिक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्वीर राखिएको छ । 

साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्वीर पनि देख्न सकिन्छ  । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो । 

त्यसैगरी, तत्कालिन शाही नेपाल वायुसेवा निगमले २०४३ सालमा खरीद गरेको गण्डकी नामक बोइङ ७५७मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्वीरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्वीर पनि प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनीमा नबिल बैंकको सुरुआती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पूरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

undefined

Advertisement