जति धेरै पर्यटक भित्राउन सकियो, त्यति युवा पलायन रोक्न हामी सक्छौंः नाट्टा अध्यक्ष थपलिया

Advertisement

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले सरकारले १० लाख पर्यटक ल्याएको भनेर खुशी हुनेभन्दा पनि २० लाख भन्दा बढी कसरी भित्राउने भन्ने लक्ष्य लिएर काम गर्नुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपालको पर्यटन क्षेत्रका लागि कम्तिमा २० लाख पर्यटक भित्राउन जरुरी रहेको बताए । सरकारले गएको आर्थिक वर्षमा १० लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको र चालु आर्थिक वर्षका लागि १६ लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको उल्लेख गर्दै थपलियाले यो संख्या अत्यन्तै न्यून रहेको बताए । 

Advertisement

‘यो संख्या हाम्रो लागि केही होइन । एक्दमै न्यून हो । कम्तिमा पनि एक वर्षमा २० लाख पर्यटक भित्रियाउनुपर्छ । सरकारले यो बर्ष कम्तिमा २० लाख र अबका ४–५ वर्षमा ३५ लाखभन्दा बढी पर्यटक भित्राउने गरी कार्यक्रम बनाउनुपर्छ’ उनले भने, ‘होटललगायतका पर्यटन पूर्वाधारमा निजी क्षेत्रले निकै ठूलो लगानी गरेको छ । ती क्षेत्र चलाउन बनाउन पनि ३५ लाखभन्दा बढी पर्यटक भित्राउनेगरी काम गर्नुपर्छ ।’ 

जति धेरै पर्यटक भित्राउन सकियो, त्यति युवा पलायन हुने क्रम रोकिने थपलियाले बताए । उनले अस्थिर सरकार, अस्थिर नीतिले पनि पर्यटन क्षेत्रसहित समग्र व्यवसायिक र आर्थिक क्षेत्र प्रभावित भएको उनले बताए । थपलियाले छिटो छिटो पर्यटनमन्त्री, सचिव, सहसचिवहरु फेरिँँदा आफूहरु आजित भएको बताउँदै पर्यटन क्षेत्र र यो क्षेत्रको समस्या सरकारी पक्षलाई बुझाउन नै कठिनाई हुने गरेको बताए । 

साथै, थपलियाले पर्यटकहरुको संख्या बढाउँदा संख्यात्मकसँगै गुणात्मक पर्यटक भित्राउन पनि सरकार र निजी क्षेत्रले पहल गर्नुपर्ने बताए । उनले भने, ‘खर्च कम गर्ने पर्यटक आउँदा पनि साना होटल र रेस्टुरेन्ट चल्छन् । रिक्सा र ट्याक्सी चल्छन् । सानो झोला र खेनौला पनि किन्छन् । त्यस्ता पर्यटक पनि हामीलाई चाहिन्छ । बढी खर्च गर्ने पर्यटक त झन देशको अर्थतन्त्र सुधार गर्न चाहिन्छ । उनीहरुले धेरै विदेशी मुद्रा भित्राउँछन् । त्यसकारण धेरैभन्दा धेरै पर्यटक भित्राउन पहल जरुरी छ । हाम्रो क्षमता पनि बढ्दै गएको छ । होटल संघको तथ्याङक अनुसार ३५ लाख पर्यटकलाई नेपाल ल्याउन सक्ने र सेवा, सुविधा दिन सक्ने क्षमता भइसकेको छ ।’ 

Advertisement