खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिची उत्पादन

Advertisement

खोटाङ । खोटाङमा यस वर्ष १६८ मेट्रिक टन लिची उत्पादन भएको छ । गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो । 

दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।  

Advertisement

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिची उत्पादन भएको छ । 

जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा ६ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादित लिचीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताएइ । 

जिल्लामा उत्पादित लिची स्थानीय हाटबजार तथा राजधानी काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिची बिक्रीबाट किसानले वार्षिक करोडौं आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।

लिची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिचीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।

Advertisement

Advertisement