बैंकहरुको गैरव्यवसायिक संस्कार, निष्क्रिय कर्जा घटाउन असार अन्तिममा २० अर्ब कर्जा प्रवाह

Advertisement

काठमाडौं । असारको अन्तिम दुई दिन अर्थात् ३० र ३१ गते बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविकरुपमा कर्जा प्रवाह गरेको देखिएको छ । उक्त दुई दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह २० अर्ब रुपियाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको कर्जा–निक्षेपसम्बन्धी तथ्यांकअनुसार कर्जाको बक्यौताका आधारमा यस्तो आँकडा देखिएको हो । निष्क्रिय कर्जा घट्उने नाममा गरिएको यो एक गैरव्यवसायिक संस्कार हो । 

Advertisement

असार २९ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ४९ अर्ब रुयियाँ थियो । असार ३० गते त्यो ११ अर्ब रुपियाँले बढेर ५१ खर्ब ६० अर्ब रुपियाँ पुगेको थियो । असार ३१ गते त्यो थप नौ अर्ब रुपियाँले बढेर ५१ खर्ब ६९ अर्ब रुपियाँ पुगेको छ । 

सामान्यत असार महिनामा बैंकहरुले कर्जा प्रवाहलाई प्राथमिकता नै राख्दैनन् । आर्थिक बर्षान्तका कारण बैंकहरुले कर्जा असुलीलाई नै पहिलो प्राथमिकतामा राख्छन् । सोही अनुसार बिगतका बर्षहरुमा असारमा त्यति कर्जा प्रवाह हुने गरेको थिएन । कतिपय अवस्थामा कर्जा प्रवाह घट्ने नै गर्दथ्यो । तर, यसपटक असारको अन्तिम दुई दिनमा भने कर्जा प्रवाह अस्वभाविक रुपमा बढेको देखियो । 

अन्तिम दुई दिनमा बाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह १७ अर्बले बढेको छ । असार २९ गते बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४५ अर्ब ५४ अर्ब रुपियाँ थियो । असार ३० गते त्यो १० अर्ब रुपियाँले बढेर ४५ खर्ब ६४ अर्ब रुपियाँ पुगेको थियो । असार असान्तको दिन त्यो थप सात अर्बले बढेर ४५ खर्ब ७१ करोड रुपियाँ  पुगेको छ ।  

बाणिज्य बैंकहरुले असारमा पहिलो साता ५६ करोड रुपियाँ मात्रै कर्जा प्रवाह गरेका थिए । दोस्रो साता १० अर्ब ३९ करोड रुपियाँ र तेस्रो साता चार अर्ब ३९ करोड रुपियाँले कर्जा प्रवाह बढाएका थिए । तर, चौथो सातामा उनीहरुको कर्जा प्रवाह तीन अर्ब १० करोड रुपियाँले घटेको थियो । कर्जा असुलीका कारण कुल कर्जा प्रवाह कम देखिएको थियो । तर, असारको अन्तिम दुई दिनमा उनीहरुको कुल कर्जा प्रवाह १७ अर्ब रुपियाँ बढेको हो ।

बैंकहरुले निष्क्रिय कर्जा लुकाउन ‘एभरग्रिनिङ’ गरेको राष्ट्र बैंकको आशंका छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । ऋणीहरुको आम्दानीमा गिरावट आउँदा कतिपयले व्याज समेत तिर्न सकेको छैनन् । त्यसले गर्दा बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दो छ । त्यसबापत प्रोभिजनिङ समेत राख्नुपर्ने हुँदा बैंकहरुको नाफा समेत प्रभावित भइरहेको छ । आर्थिक बर्षान्तमा पनि थप निष्क्रिय कर्जा बढ्ने र नाफा पनि प्रभावित हुने देखिएपछि बैंकहरुले ‘एभरग्रिनिङ’ गरेको देखिएको छ । 

सम्बन्धित ऋणीहरुलाई बिभिन्न शीर्षकमा थप कर्जा दिने र पूरानो कर्जाको व्याज तिर्न लगाउने काम बैंकहरुले गरेका छन् । बैंकिङ क्षेत्र अरुभन्दा बढी व्यवसायिक र पारदर्शी मानिदै आएकोमा यस घटनाले भने बैंकिङ क्षेत्रको कार्यशैलीमाथि नै प्रश्न उठ्ने अवस्था बनेको छ । राष्ट्र बैंक नै मौन बसिदिएकाले यसमा उनीहरुलाई सहज भएको हो । 

Advertisement

Advertisement