कांग्रेस–एमाले मिलेर सत्ता चलाएपछि माओवादी केन्द्र, रास्वपा र नेकपा एस संगठित हुँदै

Advertisement

काठमाडौं । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ता सञ्चालन गरेपछि विपक्षमा पुगेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पनि संगठित हुने तयारी गरेका छन् । 

तीन दलले शुक्रबार कसरी कांग्रेस–एमालेको प्रतिरोध गर्ने ? भन्ने बारेमा छलफल गरेका छन् । आइतवार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने पनि कार्यक्रम भएकाले सो बारेमा पनि साझा धारणा बनाउन प्रतिपक्षमा पुगेकाहरु एक भएका हुन् । 

Advertisement

प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने ? संसदमा कसरी बलियोरुपमा प्रस्तुत हुने ? भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए । उनले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताए । 

लामिछानेले भने, ‘हामी प्रतिपक्ष संख्यामा कम छौँ । त्यसकारणले कसरी बलियो प्रतिपक्ष भएर बस्ने ? प्रतिपक्षलाई अलि बढी चुनौति छ नि, त्यसकारणले प्रतिपक्ष दलहरुले छलफल गर्नुपर्छ होला । एजेण्डाहरु, जनजीविकाका सवालमा साझा एजेण्डा के कस्ता हुन्छन् ? भन्ने सामान्य छलफल हो ।’

मोओवादी केन्द्रका नेता वर्षमान पुनले बैठकमा आईतवार संसदमा प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउन बैठक बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरु संसदमा कसरी प्रश्तुत हुने ? भन्नेबारेमा धारणा बनाएको पनि बताए । 

पुनले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताए । उनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको जिकिर पनि गरे । सत्तापक्ष निरंकुश बन्ने खतरा रहेको भन्दै पुनले प्रतिपक्षले त्यो हुन नदिने बताए । 

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरामा प्रतिपक्षको धारणा बनाउन बैठक बसेको बताए । उनले प्रधानमन्त्रीले अहिलेसम्म दुई दल मिलेर सरकार बनाइसके पनि दुई दलको साझा कार्यक्रम नआएको बताए । 

पाण्डेले भइरहेको सरकार ढालेर विश्वासको मत मागेपछि दिने वा नदिने भन्नेबारेमा सल्लाह गरिएको बताए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायाण्काजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति लामिछाने, उपसभाति डोलप्रसाद अर्याललगायत उपस्थित थिए । 

Advertisement

Advertisement