जनतामा चरम निराशा बढ्यो, अर्थतन्त्र लथालिङ्ग भयोः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनतामा चरम निराशा बढेको बताएका छन् । आइतबार संसदमा बोल्दै उनले सिंगो देश निराशामा रहेको स्वीकार गर्दै २०४६ सालपछिको पुस्तामा यति चरम निराशा पहिलो पटक देखेको बताए ।

ओलीले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ । बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार छैनन् । सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोकेर धाउँदैधाउँदै काम गर्न पाएनन् ।’

Advertisement

विकास निर्माण लथालिङ्ग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै ओलीले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’

उनले निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको बताए । ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताउँदै थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाए ।  

नेपालका धेरै विकास आयोजनाहरु ‘वर्क इन प्रोग्रेस’ मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’ ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे ।

कांग्रेस र एमालेको साथ पाउँदा पनि यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकासको लय समाउनै नसकेको भन्दै उनले थपे, ‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौं ।’

प्रधानमन्त्री ओलीले सरकारको काम गर्ने क्षमता पनि बढाउने बताए । हरेक मन्त्रालयले आफ्नो काम व्यवस्थित ढंगले गर्नुपर्ने र मन्त्रालयको कार्यक्षमता सूचक बनाउने र बजेट खर्चको मूल्यांकनका लागि विशेष व्यवस्था गर्ने प्रधानमन्त्री उनले बताए ।

Advertisement

Advertisement