अर्थमन्त्रीलाई हानको गुनासो– हाम्रो क्षमता ३५ लाख पुगिसक्यो, पर्यटक जम्मा १० लाख आए

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । 

सोमवार मन्त्रालयमा नेपाल होटल संघ (हान)का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै आउने बताए । 

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने पौडेलले बताए । उनले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए । 

मन्त्री पौडेलले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको बताए । उनले भने, ‘यहाँहरुले राख्नुभएका समस्याहरुमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ । विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकित अलिकति ढिलो भएको छ । हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ ।’ 

उनले थपे, ‘होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्रता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ ।’

भेटमा हानका अध्यक्ष विनायक शाहले ३०–३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे । सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको शाहले बताए । 

उनले भने, ‘हामी ३०–३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ । हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरु आउन चाहेका छैनन् । आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचिमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’ 

अध्यक्ष साहले होटल व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गरे । 

Advertisement