पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने मौद्रिक नीति आउँछः अर्थमन्त्री

Advertisement

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् । 

अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरुको संख्या र क्षमना उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । 

Advertisement

उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन÷होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए । उनले नेपालमा आउने भारतीय पर्यटकहरुबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरुमा मन्त्रालय सकारात्मक रहेको बताए । 

उक्त अवसरमा अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरुप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीतिमा सुधारका लागि सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेश गरेका थिए । 

प्रतिनिधि मण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरु सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति थियो ।

Advertisement

Advertisement