होटल र्याडिसन र एभरेष्टको नवीकरण रद्द, ५७ करोडभन्दा बढी कर बक्यौता छः विभाग

Advertisement

काठमाडौं । क्यासिनोको रोयल्टी (सलामी दस्तुर) बक्यौता तिर्न अटेर गरेको भन्दै पर्यटन विभागले नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र लाजिम्पाटस्थित होटल र्याडिसन काठमाडौंको नवीकरण रद्द गरेको छ । 

दुवै होटलले थुप्रै बर्षदेखिको क्यासिनो सञ्चालनको ५७ करोडौं रुपियाँभन्दा बढी बक्यौता नतिरेको भन्दै विभागले नवीकरण रद्द गरेको हो । होटल र्याडिसनको २०७४ सालमा भएको नवीकरण संस्कृति, पर्यटन तथा मन्त्रालयले २०७४ कात्तिक १४ मा रद्द गरेको थियो । रद्द गर्ने क्रममा मन्त्रालयले विभागसँग स्पष्टीकरण समेत सोधेको थियो । 

Advertisement

मन्त्रालयको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत गएपछि अदालतले सरकारी निकाय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । त्यही अन्तरिम आदेशको भरमा २०७९ सम्म चलेको र्याडिसन होटलले नवीकरणका लागि पटक पटक विभागमा अनुरोध गरे पनि बक्यौता नतिर्दासम्म नवीकरण नगर्ने विभागले अडान राख्दै आएको छ । 
 
पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भुजेलले होटल र्याडिसनको क्यासिनोको रोयल्टी बक्यौता तिर्न बाँकी रहेकाले नवीकरण नभएको बताए । उक्त होटलले ४० करोड २७ लाख ५० हजार रुपियाँ बक्यौता तिर्न बाँकी रहेको उनले जानकारी दिए । 

भुजेलले भने, सर्वोच्चबाट नवीकरण यथावत राख्नु भनेर अन्तरिम आदेश आएको देखिन्छ । त्यही आदेशअनुसार २०७९ सालसम्म नवीकरण भएको मानेर होटल चल्दै आयो । त्यसपछि उसले नवीकरणको प्रक्रियामा आएको छ । बक्यौता तिरेको छैन् । पटक–पटक नवीकरणको लागि भनिरहेको छ । बक्यौता नतिरेसम्म नवीकरण गर्नसक्ने अवस्थामा हामी छैनौं ।’

नवीकरणबिना नै सञ्चालन हुँदै आएको र्याडिशनको वातावरणीय प्रभाव मूल्याङ्कन पनि हुन सकेको छैन् । ओरियण्टल होटल्स लिमिटेडले सञ्चालन गरेको यो होटल पब्लिक कम्पनी समेत हो । अन्तर्राष्ट्रिय चेन ब्राण्ड र्याडिसनले व्यवस्थापन गरेको यो होटल नवीकरण नभएसँगै यसमा भएको लगानी र सयौं कर्मचारीको भविश्य अन्योलमा परेको छ । 

यस्तै अन्योलता होटल एभरेष्टमा पनि सिर्जना भएको छ । यस होटलले क्यासिनो सञ्चालनवापत १६ करोड ९५ लाख ५८ हजार ७६७ रुपियाँ नतिरेका कारण नवीकरण हुन नसकेको विभागले जानकारी दिएको छ । २०७२ सालको भूकम्पपछि बन्द भएको होटल निकै विवाद र मुद्दामामिलामा पर्दै आएको छ । 

होटलका तत्कालिन सञ्चालक मस्कुर महमद लारी लागू औषध कारोबारमा मुछिएर पक्राउ परेपछि र होटलका कर्मचारीहरुलाई तलब सुविधा नदिएर विवादमा आएपछि होटल बन्द हुन बल पुगेको थियो । भारतीय दूतावासको चासोपछि इण्डियनहरुको समूहले अहिले यसको सञ्चालन गरे पनि क्यासिनोको बक्यौता नतिरेका कारण नवीकरण हुन नसकेको हो । दरबारमार्गस्थित होटल अन्नपूर्णपछि होटल र्याडिसन र होटल एभरेष्ट अवैधरुपमा नै सञ्चालन भइरहेका छन् । अन्नपूर्ण भने करिव बन्दकै स्थितिमा रहेको छ । 

Advertisement