गत साता सरकारले रोकेको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत साताकै शुक्रबार आउने भनेर एकाएक रोकिएको चालु आर्थिक बर्ष २०८१–८२ का मौद्रिक नीति लागि भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ । 

यसका लागि शुक्रबार बिहान ८ बजे मौद्रिक नीतिको एजेन्डासहित सञ्चालक समितिको बैठक पनि आह्वान गरिएको छ । सञ्चालक बैठकले मौद्रिक नीति पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम राष्ट्र बैंकको तयारी छ ।  

Advertisement

नेपाल राष्ट्रका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान बिभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । 

यसअघि राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागका कर्मचारीका अनुसार मौद्रिक नीतिका ९८ प्रतिशत काम पूरा भइसकेको थियो । गत शुक्रबार बिहान ८ बजे मौद्रिक नीतिको एजेन्डा सहित बोर्ड बैठक समेत बोलाइएको थियो । शुक्रबार बिहान बोर्ड बैठकबाट मौद्रिक नीति पारित गरेर दिउँसो कुनै समय सार्वजनिक गर्ने पक्का पक्की भइसकेको थियो । तर, गत साताको बिहीबार साँझ एकाएक शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्ने निर्णय गरिएको थियो । 

गभर्नर महाप्रसाद अधिकारीले मस्यौदा अध्ययन गरी नसककेको बताउँदै बोर्डका सदस्यहरुलाई एक–दुई दिनमै अर्को बैठक आह्वान गर्ने जानकारी गराएका थिए । 

बिशेषगरी गत बिहीबार (साउन ४ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेपछि गत सातानै ल्याउने तयारी गरिएको मौद्रिक नीति रोकिएको थियो । 

डा. खतिवडा यसअघि गभर्नर र अर्थमन्त्री भइसकेको व्यक्ति हुन् ।  समग्र अर्थतन्त्रबारे विज्ञ मानिने डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नै भएपछि मौद्रिक नीतिमाथि चासो देखाएका थिए । उनीसँग थप छलफल गरेर मौद्रिक नीति ल्याउने गरी गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको थियो । त्यसको एक साता पछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । 

मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार पनि साउन १५ गते भित्र मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ । त्यस भन्दा अघि नै मौद्रिक नीति ल्याउन लागिएको हो । 

शुक्रबार मौद्रिक नीति ल्याउँदा शेयर बजार प्रभावित नहुने विश्वास छ । मौद्रिक नीति मार्फत गरिने नीतिगत व्यवस्थाले शेयर बजारलाई समेत प्रभावित बनाउँछ । बिगतका घटनाक्रमहरुले पनि त्यो पुष्टी गरेको छ । बिशेषगरी मौद्रिक नीतिमा गरिने व्याजदर, शेयर कर्जाको सिमा लगायतका व्यवस्थाले शेयर बजारलाई प्रभावित बनाइरहेको हुन्छ । सोही कुरालाई मनन् गर्दै राष्ट्र बैंकले सामान्यत शेयर कारोबार हुने दिनहरु (आइतबारदेखि बिहीबारसम्म) मा ठूलो नीतिगत परिवर्तन गर्दैन । सोहीअनुसार मौद्रिक नीति पनि शुक्रबार नै ल्याउने गरिन्छ । 

शुक्रबार र शनिबार शेयर कारोबार हुँदैन । त्यसले गर्दा मौद्रिक नीतिको नाममा निश्चित समूह तथा व्यक्तिले शेयर बजारलाई प्रभावित गराउन सक्दैनन् भन्ने विश्वास छ । 

सरकारले चालु आवका लागि गत जेठ १५ गते नै बजेट ल्याइसकेको छ । बजेटले चालु आवमा ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । साथै, महंगीदरलाई ५.५ प्रतिशत भित्र सिमित राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकको नियमिमीत प्रक्रिया नै हो । तर, बजेटले ल्याएका त्यस्ता लक्ष्यहरुलाई सहयोग पुग्ने गरी पनि मौद्रिक नीति ल्याउनुपर्ने अभ्यास छ । मौद्रिक नीतिमार्फत लिइने कर्जा प्रवाह नीति, व्याजदर, कर्जा प्रवाहका लागि तोकिने प्राथमिक क्षेत्र लगायतका नीतिले अर्थतन्त्रलाई प्रभावित बनाएको हुन्छ । अर्थतन्त्रको सवालमा बजेट पछि मौद्रिक नीति महत्वपूर्ण मानिन्छ । 

राष्ट्र बैंकले चालु आवका लागि पनि सहजतापूर्वक लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको देखिएको छ । गत आवका लागि पनि राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको थियो । चालु आवका लागि पनि सोही कार्यदिशामा मौद्रिक नीति ल्याइने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

गत आवको जेठ मसान्तसम्म रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ पुगेको छ । देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर अर्थात् शोधनान्तर स्थिती पनि चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा छ । विदेशी मुद्रा सञ्चिति पनि १९ खर्ब ६७ अर्ब १९ करोड रुपियाँ पुगेको छ । राष्ट्र बैंकले नै प्रकाशन गरेको यी तथ्यांकले बाह्य क्षेत्र निकै सहज अवस्थामा पुगेको देखाएको छ । मुल्यबृद्धि दर पनि ४.१७ प्रतिशतमा सीमित भएको छ । 

तर, आन्तरिक अर्थतन्त्र भने अझै चलायमान हुन सकेको छैन । गत आवमा आर्थिक बृद्धिदर ३.९ प्रतिशत मात्रै हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । आयात निर्यातमा पनि संकुचन आएको छ । सर्वसाधारणको क्रय शक्ति बढ्न नसक्दा बजारमा माग बढ्न सकेको छैन । त्यसले अर्थतन्त्र प्रभावित बनाइरहेको छ । यो अवस्थामा मौद्रिक नीतिलाई अझै पूर्णरुपमा लचिलो बनाउन नसकिने उक्त अधिकारीले बताए । 

‘अहिलेको तथ्यांकले नै सहजतापूर्वक लचिलो नीति मागेको छ । बाह्य क्षेत्र बलियो छ भने आन्तरिक अर्थतन्त्र शिथिल नै छ ।  यो अवस्थामा पूर्णरुपमा लचिलो मौद्रिक नीति ल्याउन सकिन्न । सहजता पूर्वक लचिलो मौद्रिक नीति नै ल्याउने गरी काम गरिरहेका छौं,’ उनले बताए ।
 

Advertisement

Advertisement