काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाईन्सको विमान दुर्घटनासम्बन्धि छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन् ।
आईतवार संसद बैठकमा उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानविन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै आयोगबाट निष्पक्ष छानविन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताए ।
सरकारले सो विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर विश्वास गर्न नसकिने लिङदेनको तर्क छ ।
उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानविनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए । लिङदेनले भने, ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आईराखेको छ । भनेपछि कुन प्रकारको छानविन हुन्छ होला रु र एउटै मान्छेलाई यस प्रकारको छानविनको जिम्मेवारी पटक पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ । र म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरे ।