धार्चे पहिरोः बेपत्ता चार जनाको शव भेटियो, १ को अवस्था अज्ञात

Advertisement

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । 

पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी ए । 

Advertisement

यस्तै बेपत्ता जीतबहादुर गुरुङको शव पनि भेटिएको छ । उनको  शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो । पहिरोमा परेर बेपत्ता भएका रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो । उनको शव घरदेखि ३० मिटर तल फेला परेको छ । 

पहिरोमा परेर बेपत्ता भएकी कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।  आइतबार दिउँसो वेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टी गरेको हो ।

पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement