खारेज भए दुई सय चार उद्योग

Advertisement

धरान । सुनसरीमा २०८०–८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् । 

Advertisement

उनले भने, “आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ ।” उनका अनुसार गत आवमा सुनसरीमा पाँच सय ६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले रु १८ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले उद्योगतर्फ रु एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ रु एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट रु ७० हजार गरी कूल रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।   

गत आवमा सनुसरीका एक सय २४ साना तथा मझौला उद्योगले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले रु ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । गत आव २०८०८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले रु ६७ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

Advertisement

Advertisement