इलाममा ३४ करोड ८७ लाखमा बने ५९ वटा कुलो

Advertisement

इलाम । इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।  

माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर खुसी छन् ।  

Advertisement

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहितसयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो । 

राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार ८८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजुरखोलामा कुलो निर्माण भएको छ । 

इलामका विभिन्न पालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । 

इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।  

सूर्योदय नगरपालिकामा चार करोड १९ लाख २६ हजार ६३४ रुपैयाँ लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा तीन करोड ४२ लाख ९४ हजार ६६४ को लागतमा आठ, माई नगरपालिकामा चार करोड पाँच लाख ९८ हजार ४७५ रुपैयाँ लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए । 

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार १४२ परिवार लाभान्वित भएका छन् । 

योजना सञ्चालनका लागि स्विस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरूको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।

Advertisement

Advertisement