चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै
प्रतीकात्मक तस्बिर ।

Advertisement

जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । 

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईंका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । 

Advertisement

पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो । 

आयोजनाका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) बाट रु ९५ लाख र पालिकाले रु एक करोड १० लाख व्यहोर्नेछ । 

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ । 

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ । 
 

Advertisement

Advertisement