एक वर्षमा पौने ३५ करोड रुपियाँको अनलाइन ठगी, मोबाइल बैंकिङबाट मात्रै ८९.७३ लाख

Advertisement

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो । 

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ । त्यसको अनुमानित ठगी रकम ३४ करोड ७२ लाख १५ हजार रुपियाँ देखिएको हो । प्रहरीले यस्ता मुद्दामा गत आवमा २३३ जनालाई पक्राउ पनि गरेको छ । त्यसमा १९८ जना स्वदेशी र २५ जना विदेशी नागरिक रहेका छन् ।

Advertisement

अघिल्लो आव २०७९–८० मा भने ७५ वटा मात्रै मुद्दा अघि बढेको थियो ।  त्यस बर्ष ठगी रकम भने ३५ करोड ८८ लाख २० हजार रुपियाँ थियो । अघि बढेको मुद्दा संख्याको तुलनामा गत आवमा अनलाइन ठगी बढेको देखिन्छ । तर, रकमका आधारमा भने सामान्य दरमा कम भएको देखिन्छ । 

पछिल्लो समय नेपालमा इन्टरनेटसँगै डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल तथा मोवाइल बैंकिङ र डिजिटल वालेट जस्ता भुक्तानीका उपकरण लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । साथै, अनलाइन सपिङको कल्चर पनि बढ्दो छ । त्यसलाई नै प्रयोग गरेर ठगी गिरोहले अनलाइनबाटै आर्थिक लुटपाट तथा अपराध गर्दै आएका छन् ।

प्रहरीको तथ्यांकअनुसार समीक्षा बर्षमा अनलाइन स्क्यामबाट सबै भन्दा धेरै ठगी भएको देखिन्छ । त्यसबाट २५ करोड तीन लाख ९५ हजार रुपियाँ ठगी भएको छ । यस अन्तरगत प्रहरीले ३६ वटा मुद्दा अघि बढाएको छ ।

धेरै ठगी हुनेमा दोस्रो स्थानमा भने अनलाइन बैंकिङ रहेको छ । गत आवमा अनलाइन बैंकिङबाट एक करोड १५ लाख ६० हजार रुपियाँ ठगी भएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा प्रहरीले १७ वटा मुद्दा अघि बढाएको छ । 

तेस्रो स्थानमा भने अनलाइन सपिङ रहेको छ । समिक्षा बर्षमा अनलाइन सपिङमार्फत ९७ लाख ६६ हजार रुपियाँ बराबरको ठगी भएको देखिन्छ । त्यसमा प्रहरीले ४० वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, इसेवा, फोन पे जस्ता वालेटबाट ८९ लाख ७३ हजार रुपियाँको अनलाइन पेमेन्ट ठगी भएको छ । त्यसमा प्रहरीले २८ वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, सामाजिक सञ्जालबाट ५७ लाख ८५ हजार रुपियाँ, लट्रीको नाममा ४४ लाख पाँच हजार र फिशिङबाट १० हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले सामाजिक सञ्चालन ठगीमा १६, लट्री ठगीमा ५ र फिसिङ एउटा मुद्दा अघि बढाएको छ । 

यसैगरी अन्य बिभिन्न माध्यमबाट पाँच करोड ६३ लाख १६ हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको तथ्यांकमा उल्लेख छ ।  त्यसमा प्रहरीले २३ वटा मुद्दा अघि बढाएको छ । 

पछिल्लो समय नेपालमा मोवाइ बैंकिङ, वालेट, अनलाइन सपिङ, सामाजिक सञ्जाल लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । त्यसलाई नै प्रयोग गरेर गिरोहले ठगी गर्ने गरेको प्रहरीहरु बताउँछन् । त्यसमा आम मानिसमा सही र आवश्यकताअनुसारको ज्ञान नहुँदा पनि यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । 

ठगी गर्ने व्यत्तिले कुनै व्यक्तिको सामाजिक सञ्जाल ह्याक गरेर उसको साथीहरुलाई पैसा माग्ने गर्छन् । साथै, सामाजिक सञ्जालको म्यासेजमा कुनै लट्री परेको सूचना दिएर पनि पैसा माग्ने पनि गर्छन् । कुनै परिचित व्यक्तिको छुट्टै सामाजिक सञ्जालको खाता बनाएर पनि ठगी गर्नै गरेको प्रहरीहरु बताउँछन् । यस्तै, बिभिन्न प्रविधि प्रयोग गरेर बैंक खाताहरु ह्याक गर्ने गरेको पनि बताइन्छ । 

कतिपयले सामाजिक सञ्जालमा भिडियो कल गरेर आफै अश्लिल गतिविधि गर्न र सम्बन्धीत व्यक्तिलाई पनि अश्लिल गतिविधि गर्न लगाउने गरेको पाइन्छ । त्यस्तो क्रियाकलापको भिडियो खिचेर पैसा माग्ने गरेको पनि बताइन्छ । 

यस्तै, अनलाइन सपिङ अन्तरगत पैसा लिएर पनि सामान नदिने प्रवृत्ति पनि रहेको प्रहरीको भनाइ छ । 

यसरी नेपालमा अनलाइन ठगीका घटनाहरु भइरहेका छन् । तर, आम मानिसहरुमा यस्तो सुरक्षाका पर्याप्त जानकारी नहुदाँ पटक पटक ठगीको शिकार बन्नु परेको प्रहरीहरु बताउँछन् । 

Advertisement

Advertisement