काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ८३ करोड २० लाख रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न बैंकहरूसँग प्रस्ताव माग गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४६ करोड ७० लाख, राष्ट्रियस्तरका विकास बैंकमा २७ करोड ४० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थामा ९ करोड १० लाख रुपियाँ निक्षेप जम्मा गर्न लागेको हो ।
राष्ट्र बैंकका उक्त रकम ३९३ दिन अर्थात् १९ नोभेम्बर २०२४ देखि १६ डिसेम्बर २०२५ सम्मका लागि मुद्दतीमा राखिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।