नारायणगढ-बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

Advertisement

मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायण बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । 

सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । 

Advertisement

सडक पूर्ण रूपमा सञ्चालनका लागि पहाड फोड्नुपर्ने र खोलाको किनारबाट जग उठाउनुपर्ने भएकाले सडक भासिएको दोस्रो दिन पनि मर्मतको काम नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

मङ्गलबार दिनभर सडक मर्मतको काम गरिएकामा गएरातिको वर्षाले लेदोसहितको माटो सडकमा खसाल्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
 
“बुधबार साँझसम्म काम गर्दा पनि नसकिएपछि भोलि बिहान ८ बजेदेखि पुन सडक मर्मतको काम सुरु गर्नेगरी आजलाई काम रोकिएको छ”, उनले भने,  “आज राति पनि गाडीहरू एकतर्फी मात्र सञ्चालन हुने छन् ।” बिहीबार बिहान पानी नपरेमा बिहान ८ बजेदेखि मर्मतको काम सुरु गरेर दुई घण्टामा दुईतर्फी नै सडक सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ । 

सोमबार साँझ दाउन्ने बजारमा सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरूपमा यातायात अवरुद्ध भएको थियो ।

Advertisement