काठमाडौं । ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई त्रिभुवन विमानस्थलमा विशेष स्वागत गरिएको छ ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र इमाजिन नेपाल ट्रेक्स कम्पनीका पदाधिकारीले उनलाई स्वागत गरेका हुन् ।
शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकको यही सिजनमा दुई पटक आरोहण गरेका थिए । खुम्बु गाउँपालिकाका शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालमा पाइला टेक्न सफल भएका छन् ।
साथै, उनको स्वागतमा आजै आयोजित अर्को कार्यक्रममा पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष पाण्डेले आरोहीहरुका लागि आरोही कल्याण कोषको स्थापना गर्न आवश्यक रहेको भन्दै यससम्वन्धी नीति नियम बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘विश्वलाई नेपाललाई चिनाउनका लागि शेर्पा समुदाय लागिपरेका छन् । यालुङ खाङ हिमाल आरोहण गरेर नेपालको पहिलो पर्वतारोही बन्नु नै हाम्रो लागि गौरवको कुरा हो ।’
पर्यटन विभागका निर्देशक गुरुङले हिमाल र शेर्पा एकअर्काको पर्यायवाची भएको बताए । सरकारले कल्याणकारी कोषको स्थापना नगरे शेर्पा समुदाय विदेश पलायन हुने सम्भावना बढेको बताए । गुरुङले प्रदुषणले हिमालको अस्तित्व नै हराउने देखिएकाले यसका लागि सरसफाई कोषको स्थापना गर्नुपर्ने बताए ।
इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोही शेर्पा उमेरले ५२ वर्ष पुगेका छन् । विश्वका आठ हजार मिटर अग्ला चुचुरोहरु धेरै पटक आरोहण गरिसकेका उनले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए । शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्ति हुन् । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो हुन् ।