रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा, थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

Advertisement

काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ ।
  
त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए । 

बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताए । बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ ।

Advertisement

राष्ट्रियसभा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए । उनले भने, “त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ । प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ ।”

थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
यता, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।  

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । 

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”

खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । 

Advertisement

Advertisement