सागसब्जीका बेर्ना बेचेरै प्रशस्त आम्दानी

Advertisement

कैलाली । आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् ।  

‘जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन,’ उनी भन्छिन्, ‘थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।’ 

Advertisement

उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आएकी छिन् । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आएकी उनले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताइन् । 

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउँछन् । ‘हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो,’ उनी भन्छन्, ‘बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।’ 

वार्षिक  रु चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउँछन् । 

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएकी छिन् । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गर्नुभएकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिएकी छिन् । तालिम लिएपछि व्यावसायिक रूपमा उनको परिवार नै त्यसैमा निर्भर छ । उनको फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उनी बताउँछिन् । 

सागसब्जी बेर्ना बिक्रीका लागि  कृषि हाटबजार किसानका लागि बरदान बनेको उन बताउँछिन् । ‘उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ,’ उनी भन्छिन् । बेर्ना बिक्रीबाट वार्षिक रु छ लाखसम्म कमाइ हुने गरेको बताइन् । 

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गरेका छन् । 
 
टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।
 

Advertisement