अमेरिकाले चिनियाँ इभीमा बढायो शुल्क

Advertisement

वासिङ्टन । अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो ।

Advertisement

शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ । दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन् । 

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा भने, “आजको अन्तिम शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ ।”

यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ । 

यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो । ट्रम्प प्रशासनले चीनबाट करिब तीन खर्ब डलरको सामानमा शुल्क लगाएको थियो । रासस–एएफपी 

Advertisement