मन्त्रालयका सचिव नै भन्छन्-‘बजार व्यवस्थापनमा चुनौती छ’

Advertisement

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताए । उनले भने, “बिचौलियाको समस्या छ । उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ ।”

Advertisement

बैठकमा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्ने विषयका सम्बन्धमा छलफल चलेको थियो ।

सचिव डा खरालले कृषि क्षेत्रमा बजेट र लगानीको आवश्यकता रहेको औँल्याए । उनले भने, “कृषि क्षेत्रलाई अझै रोजगारीमूलक बनाउनुपर्ने छ । नगदे बाली निर्यात गर्न सक्षम छौँ, यसमा हामीले प्राथमिकता पनि दिएका छौँ, अलैँची खेती त्यसको  राम्रो उदाहरण हो ।”

बैठकमा सांसद विजुला रायमाझीले रासायनिक मलबाट मानव जीवन र जलवायु परिवर्तनमा प्रतिकूल असर परेकाले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने बताइन् । सांसद सम्झना थपलियाले वास्तविक किसानले अनुदान पाउन नसकेका विषयमा ध्यानाकर्षण गराएकी थिइन् । 

सांसदहरू अमृतलाल राजवंशी, सूर्यकुमारी श्रेष्ठ, सरस्वती सुब्बा, सूर्यप्रसाद ढकाललगायतले व्यावसायिक खेती, किसानलाई सहुलियत कजा, उत्पादन वृद्धि गर्ने सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।   

Advertisement