राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको कहिल्यै देखेको थिइनः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन् । 

नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भईरहेको उनले तर्क गरेका छन् । 

Advertisement

एमालेले शनिवार राजधानीमा गरेको एक कार्यक्रममा ओलीले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभूति पनि सुनाए । राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भए पनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उनको तर्क छ । 

प्रम ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै पनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरुले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको बताए । 

उनले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन पहिले पहिले । राजतन्त्र नै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे । तर त्यो एउटा औपचारिक कराई हृुन्थ्यो । अहिले त्यो भन्दा बढि पदधारी होइन, आशाधारीहरु । अहिले पदधारी कराईरहेका छैनन । पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे । अहिले पदधारी होइन । वर्तमानमा केही पाएकाहरु होइन कि आशाधारीहरु छन् । तिनीहरु कराईराखेका छन ।’ 

ओलीले थपे, ‘नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरु भईरहेका छन । र, नेपाललाई विकास र समृद्धिको अगाडि बढनै नदिने प्रयासहरु भईरहेका छन् । यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो । त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान, कोही नजानेर होलान । कोही योजनावद्ध ढंगले होला, कोही लहैलहमा होला । तर एउटा माहौल खडा गर्ने कोशिस भईराखेका छन् । उनीहरुसँग कुरा सत्य र तथ्यको बाटो हुँदैन ।’ 

प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए । 

Advertisement