एमसिसी कार्यान्वयनको एक बर्ष: तीन सवस्टेशन र १८ किमी प्रसारणलाइनको ठेक्का सम्झौता

Advertisement

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपाल २९७ किलोमिटर लामो तीन प्रसारण लाइनको निर्माणका लागि आगामी नोभेम्बर महिना भित्र ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ । 

कार्यान्वनमा प्रवेश गरेको एक बर्षको अवसरमा एमसीए नेपालले बिहीबार सार्वजनिक गरेको एक प्रगति विवरणमा यस्तो उद्देश्य उल्लेख गरिएको हो । यही अवसरमा एमसीए नेपाल र अमेरिकी दुतावासले बुधाबार काठमाडौंमा एक कार्यक्रम पनि गरेका थिए । 

Advertisement

अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को ५० करोड डलर र नेपाल सरकारको १९.६७ करोड डलर लगानीमा ४०० केभी क्षमताको ३१५ किमी लामो चार प्रसारण लाइन, ४०० केभी क्षमताको तीन सवस्टेशन र केही सडक खण्ड मर्मत परियोजना छन् । यो परियोजना २०८० भदौ १३ गतेबाट कार्यान्वयनमा प्रवेश गरेको थियो । कार्यान्वयनमा प्रवेश गरेको पाँच बर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ, त्यो अवधीमा काम नसकिएमा खर्च हुन बाँकी रकम एमसिसीले पठाउने छैन । यो परियोजना कार्यान्वयन गर्न सरकारले विकास समितिको रुपमा एमसीए नेपाल खडा गरेको थियो । 

आगामी भदौ १३ गते एमसिसी कार्यान्वयनमा प्रवेश गरेको एक बर्ष पुग्दैछ । सो अवसरमा एमसीए नेपालले बिहीबार प्रगति विवरण सार्वजनिक गर्दै लक्ष्यअनुसार नै काम भएको दावी गरेको छ । त्यसमा सबै भन्दा महत्वपूर्ण र ठुलो परियोजनाको रुपमा रहेको प्रसारण लाइनको निर्माणको टेन्डर नोभेम्बर भित्र आह्वान गर्ने एमसीए नेपालको दावी छ । 

यस अन्तरगत १८ किमीको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड, ११७ किमीको लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, ९० किमीको रातमाटे–न्यु दमौली र ९० किमी कै न्यु दमौली–न्यु बुटुवल गरेर ३१५ किमी लामो प्रसारण लाइन बन्दैछन् । त्यसको निर्माणका लागि २०७९ मंसिर १२ गते देखि २०८० जेठ ७ गतेसम्म अन्तरराष्ट्रिय रुपमा नै टेन्डर आह्वान गरिएको थियो । तर, त्यसमा आएको वित्तिय प्रस्ताव अनुमानित लागत भन्दा ६५ प्रतिशत बढी भएपछि गत २०८० असोजमा टेन्डर रद्द गरिएको थियो । 

त्यसको एक बर्षपछि पुनः टेन्डर आह्वान गर्न लागिएको हो । यद्यपि, १८ किमीको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको निर्माणका लागि गत चैतमा टेन्डर आह्वान गरिएको थियो । 

भारत खण्डको लाइन निर्माणमा गइसकेको हुनाले छिट्टै निर्माण सम्पन्न गर्ने गरि उक्त प्रसारण लाइनको छुट्टै टेन्डर निकालीएको थियो । त्यसमा गत साउनमै ठेकदार कम्पनी छनोट भइसकेको एमसीए नेपालले जानकारी दिएको छ । तर, निर्माण कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन । उक्त कम्पनीसँग यही अगस्ट भित्र ठेक्का सम्झौता गरिने बताइएको छ । 

बाँकी तीन प्रसारण लाइनको निर्माणका लागि भने आगामी नोभेम्बर भित्र टेन्डर आह्वान गर्ने एमसीए नेपालको भनाइ छ । यस्तै, सडक मर्मत परियोजनाको लागि आगमी सेप्टेम्बर/अक्टोबरमा खरिद प्रत्रिया अघि बढाउने एमसीए नेपालको योजना छ । यस अन्तरगत ४० किमी भन्दा बढी सडक बिशेष रुपमै मर्मत गरिदैछ । 

एमसीए नेपालले कार्यान्वयनमा प्रवेश गरेका पहिलो बर्ष तीन सवस्टेशनको ठेक्का सम्झौता गरेको बताएको छ । यस अन्तरगत रातमाटे, दमौली र पश्चिम नवलपरासी पश्चिम भूमहीमा ४००–४०० केभी क्षमताका तीन सबस्टेसन निर्माण गरिँदै छ ।

रातमाटे  सवस्टेशन पाँच करोड १५ लाख डलर र नयाँ दमौली सवस्टेशन तीन करोड ८८ लाख ९० हजार डलरमा बनाउन टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी ठेक्का सम्झौता भएको छ । 

यस्तै, नयाँ बुटवल सवस्टेशन बनाउन तीन करोड ५५ लाख १० हजार डलरमा लिंकसन इन्डिया प्रालिसँग ठेक्का सम्झौता भइसकेकोछ । तीन वटा गरेर १२ करोड ६० लाख डलरमा ठेक्का सम्झौता भएको देखिन्छ । 

कार्यान्वयनको पहिलो बर्षमा एमसीए नेपालले २७० जनालाई जिवीकोपार्जन तालिम दिएको जनाएको छ । जग्गा प्राप्तीतर्फ धादिङ, मकवानपुर र नवलपरासी पश्चिमका लागि मुल्य निर्धारण गरिएको बताइएको छ । साथै, मुआब्जा प्राप्त गर्ने सबै व्यक्तिका लागि वित्तीय साक्षरता तालिम र बैंक खाता खोल्ने काम पनि सम्पन्न भएको बताइएको छ । 

प्रसारण लाइन निर्माण लागि १० जिल्लामा जग्गा प्राप्ती गर्नुपर्नेछ । त्यसमा नौ जिल्लामा जग्गा प्राप्तीको प्रक्रिया अघि बढेपनि काठमाडौंमा भने अझै सुरु भएको छैन । 

एमसीए नेपालले कार्यान्वयनको दोस्रो बर्षमा २९७ किलोमिटर लामो तीन प्रसारणलाइनको निर्माण सम्झौता गर्ने, तीन सवस्टेशनको निर्माण सुरु गर्ने लगायतको योजना बनाएको छ ।

Advertisement

Advertisement