काठमाडौँ । मुलुकबाट विद्युतभार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।
गत आवमा सबैभन्दा बढी ग्राहस्थ्र्यतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा चार सय युनिट पुगेको छ ।
आठ वर्षअघि बर्खायाममा समेत दैनिक आठ घण्टा विद्युत्भार कटौती थियो । हिउँदमा दैनिक १४ घण्टासम्म विद्युत्भार कटौती गर्नुपर्ने प्रक्षेपण थियो । विसं २०७३ को कात्तिकदेखि काठमाडौँ उपत्यका हुँदै क्रमिक रुपमा देशका प्रमुख सहरमा गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको विद्युत्भार कटौती अन्त्य गरिएको थियो । सरकारले २०७५ वैशाखदेखि सिङ्गो मुलुक विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो ।
आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्भार कटौती अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए ।
हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन् । त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरिएको छ । यस्तै, सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ ।
आव २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/७४ मा (२८ दशमलव ४७ विन्दुले बढी) चार अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५/७६ मा छ अर्ब ३० करोड युनिट, २०७६/७७ मा छ अर्ब ४२ करोड तथा २०७७/७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो ।
यसैगरी, आव २०७८/७९ मा आठ अर्ब ८४ करोड, आव २०७९/८० मा नौ अर्ब ३५ करोड र आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो ।
गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११ दशमलव ३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन दुई हजार दुई सय १२ मेगावाट विद्युत् माग गरिएको थियो ।
बर्खायामका ६ महिना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा आठ दशमलव ५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ ।
गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको थियो । तर सोही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी भएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।